७ मंसीर, काठमाडौं । ह्यूमन राईटस् वाचले जेनजी आन्दोलनमा प्रदर्शनकारीहरुमाथि ताकेरै गोली प्रहार गरेको भेटिएको जनाएको छ । हिंसा र उछृङ्खल क्रियाकलापमा संलग्न नभएका र प्रहरीमाथि गम्भीर र तत्काल संकट आउने परिस्थिति नहुने प्रदर्शनकारीहरुमाथि समेत ताकेरै गोली प्रहार गरेको भेटिएको निष्कर्ष निकालेको हो ।
मानव अधिकारको अवस्थाबारे विश्वव्यापी अनुगमन गर्ने संस्था ह्यूमन राईटस् वाचका अनुसन्धानकर्मीहरु प्रत्यक्षदर्शी र घाइतेहरुसँग कुराकानी गर्दै ‘झडप भइरहेको ठाँउबाट भाग्दै गरेकाहरुमाथि पनि गोली प्रहार भएको र उनीहरुका शरिरको पृष्ठ भागमा गोली लागेको’ निष्कर्ष निकालेको हो ।
साढे दुई महिनाअघिको जेन–जी प्रदर्शनका क्रममा अस्वभाविक र असंगत’ बल प्रयोग भएको निष्कर्ष निकाल्दै ह्यूमन राइटस् वाचले पाँचवटा विषयवस्तुमा प्रश्न उठाएको हो ।
अमेरिकाको न्यूयोर्कबाट जेन–जी आन्दोलन, त्यसमा बल प्रयोग र मानव अधिकारको अवस्थावारे अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै ह्यूमन राइट वाचले भदौ २३ गते प्रदर्शनकारीहरुमाथि करिब ३ घण्टा व्यापक गोली चलेको निचोड निकालेको छ । उसले सुरक्षाकर्मीहरुबाट गोली प्रहार गर्ने प्रवृतिलाई अन्धाधुन्ध भनेको छ ।
ह्यूमन राईटस् वाचले आफ्नो संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्दै त्यसैको प्रतिक्रियास्वरुप भोलिपल्ट व्यापक आगजनी र लुटपाट भएको निष्कर्ष निकालेको हो । तर उसले त्यसमा ‘जेन–जी’ प्रदर्शनसँग सम्बन्धित नभएका व्यक्तिहरु पनि संलग्न भएको भनेको छ ।
उसले अध्ययनको निष्कर्षमा हिंसाको अनुसन्धान गर्न बनेको न्यायिक आयोगले पारदर्शी रुपमा काम गर्नुपर्ने र कानून तोड्ने जो–कोहीलाई अनुसन्धान र अभियोजनमा ल्याउन सक्षम हुनुपर्ने औंल्याएको हो । उसले त्यसैमा न्यायिक आयोगको सफलता निर्भर हुने औंल्याएको छ । उसले जेन–जी आन्दोलनपछि बनेको सरकारले पहिलो र दोस्रो दिनको घटनामा संलग्न सबैको छानबिन हुनुपर्छ भनेको छ ।
राजनीतिक भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धको विरोधमा प्रदर्शन गरिएका प्रदर्शनकारीहरुमाथि करिब तीन घण्टासम्म धेरैपटक अन्धाधुन्ध गोली चलेको भन्दै उसले त्यसक्रममा मात्रै १७ जनाको ज्यान गएको जनाएको छ । त्यो दिन मर्नेहरुको कूल संख्या भने २२ पुगेको थियो ।
उसले अध्ययन प्रतिवेदनमा पहिलो दिन साढे १२ बजे संसद् भवन वरपर जम्मा भएका प्रदर्शनकारीहरुलाई तितरबितर पार्न प्रहरीले सोझै ‘प्राणघातक बल’ अर्थात मेटल बुटेल प्रयोग गरेको निष्कर्ष निकालेको छ ।
उसले त्यो प्रहार टाउको, छाती र पेटमा केन्द्रित भएको भन्दै सुरक्षाकर्मीहरु ‘जीवन–मरणको जोखिम’मा नभएकै अवस्थामा पनि बल प्रयोग भएको निष्कर्ष निकालेको हो । उसले प्रत्यक्षदर्शीहरुको बयान र भिडियो फुटेजमा आधारित अध्ययनपछि भनेको छ, ‘अध्ययनले त्यस्तो प्राणघातक बल प्रयोग गर्नैपर्ने गरी गम्भीर तथा तत्काल संकट थियो भन्ने देखाउँदैन ।’
जीवन–मरणको जोखिममा भने सुरक्षाकर्मीहरुले चेतावनी सहित प्राणघातक बल प्रयोग गर्नु स्वाभाविक मानिन्छ । एक अवकाशप्राप्त प्रहरी अधिकारीलाई उदृत गर्दै अध्ययनले ‘भीड नियन्त्रण र प्राणघातक बल प्रयोगको प्रक्रियाको पालना नभएको’ भनेको छ ।
संयुक्त राष्ट्रसंघीय मापदण्ड अनुसार, सुरक्षाकर्मीहरुको जीवन–मरणको तत्कालीन जोखिममा मात्रै प्राणघातक हतियार प्रयोग गर्न मिल्छ । तर त्यसअघि पनि चेतावनी दिनुपर्छ । नेपालको कानूनमा पनि त्यही व्यवस्था भएपनि परिपालना नभएको अध्ययनको निष्कर्ष छ ।
सामाजिक सञ्जाल, त्यसमा पनि विशेषगरी डिस्कर्डको माध्यमबाट सूचना पाएका सहभागीहरु ठूलो संख्यामा भेला हुँदा समेत संसद भवन जाने सडकमा एक मात्रै अवरोधक ‘ब्यारिकेड’ राखिएको प्रतिवेदनमा उल्लेख छ ।
बिहान ९ बजे आसपास नै माईतीघरमा भेला भएका प्रदर्शनकारीहरु भीड ११ बजेसम्म ठूलो भइसकेको भन्दै अध्ययनले प्रदर्शनकारीहरुले ब्यारिकेड नाघेपछि प्रहरीले अश्रुग्यास, पानीको फोहोरा र लाठी प्रहार गरेको विवरण उल्लेख गरेको छ ।
त्यसक्रममा केही प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा प्रहार गरेको विवरणमा उल्लेख छ ।
शुरुमा शान्तिपूर्ण रुपमा अघि बढेको प्रदर्शन बानेश्वरको प्रहरी ब्यारिकेड नाघेपछि अव्यवस्थित हुन पुगेको भन्दै त्यसपछि सुरक्षा संयन्त्रले ‘प्राणघातक बल प्रयोग’ गरेपछि जनधनको क्षति भएको निष्कर्ष निकालेको हो ।
सरकारले करिब साढे १२ बजे कर्फ्यूको घोषणा गर्दा समेत प्रदर्शनकारी र पत्रकारले कुनै जानकारी नपाएको भन्दै ह्यूमन राइटस् वाचले एक पत्रकारको भनाई उदृत गर्दै एक बजेभित्र ‘वातावरण अत्यन्तै खराब भएको’ औंल्याएको छ । त्यसक्रममा प्रत्यक्षदर्शीहरुले आफ्नो नजिकबाट गोली गएको बताउदै ‘प्राणघातक बल प्रयोग गर्नुअघि कुनै चेतावनी सुनिएको थिएन’ भनी बताएका छन् ।
भ्रष्टाचार, उचित जीवनस्तरको अभाव लगायत नागरिक अधिकारको विषय जोडिएर आन्दोलन भएको औल्याउदै उसले विगतका ती विफलतालाई प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले सम्बोधन गर्नुपर्छ भनेको छ ।
ह्यूमन राइटस् वाचले अध्ययनका क्रममा ५२ जना प्रत्यक्षदर्शी, पीडित, पत्रकार, स्वास्थ्यकर्मी, राजनीतिज्ञ, सुरक्षा अधिकारीहरुसँग अन्तर्वार्ता र कुराकानी गरेको थियो । उसले सामाजिक सञ्जालमा गरिएका पोष्ट, अनुसन्धानकर्मीहरुलाई ‘शेयर’ गरिएको फोटो र भिडियोको विश्लेषण गरेको थियो । अस्पताल, प्रदर्शनस्थल र आगजनी भएका ठाँउहरुको अवलोकनबाट समेत प्रतिवेदन तयार पारिएको भन्दै उसले अनुसन्धान काठमाडौं केन्द्रित रहेको स्पष्ट पारेको छ ।
सन् १९७८ मा स्थापित ह्यूमन राइटस् वाच एक अन्तर्राष्ट्रिय गैरसरकारी संस्था हो । जसले मानव अधिकार, हिंसा, युद्धअपराध लगायतको अनुगमन गर्छ । उसका अनुसन्धानकर्मीहरुले जेन–जी आन्दोलनपछि काठमाडौंमा केन्द्रित भएर अनुसन्धान र अनुगमन गरेका थिए ।