नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी एघारौँ महाधिवेशनमा अध्यक्षमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका छन्।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा पोखरेलले आफू अध्यक्षमा उठ्ने मनस्थिती बनाइसकेको बताएका हुन्।
यसअघि सञ्चारमाध्यममार्फत अध्यक्ष पदमा उठ्ने बताउँदै आएका पोखरेलले पहिलो पटक पार्टी बैठकमा मुख खोलेका हुन्। बैठकमा अध्यक्ष केपी ओलीले समेत आफू पछि नहट्ने बताएको एक पदाधिकारीले जानकारी दिए।
बैठकमा वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टी आन्दोलन संकटापन्न अवस्थामा पुगेको, नेतृत्वको अभिव्यक्ति, कार्यशैलीका कारण संकट गहिरिँदै गएकाले यसको निकास दिने गरी आफूले प्रतिस्पर्धा गर्न चाहेको बताए।
‘यो जटिल परिस्थिती, यो गम्भीर परिस्थिती, यो संकटमा नयाँ ढंगले पार्टीलाई पुनर्गठन गरेर जानुपर्छ भनेर राख्दै आएका हौँ हामीले’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘खाली नेतृत्वको सवालमा त्यति छलफल भएको थिएन। आज अध्यक्ष ९ओली०ले पनि म छोड्दिन, म उठ्छु भन्नुभयो। ईश्वर कमरेडले पनि म पनि उठ्ने तयारीमा छु भन्नुभयो।’
पोखरेलले अध्यक्षमा उठ्ने चाहना व्यक्त गरेपछि ओलीले भने सकभर मिलेर र एकमना एकताका साथ जान आग्रह गरेका थिए।
अध्यक्ष ओलीले भरसक मिलेर जान नभए स्वस्थ्य प्रतिस्पर्धा गर्न आग्रह गर्दै भीम रावलको जस्तो अवस्था नहोस् भनेर अभिव्यक्ति दिएका थिए ।
भीम रावलले चितवन महाधिवेशनमा अध्यक्षका लागि प्रतिस्पर्धा गरेका थिए ।
पार्टीका पूर्वउपाध्यक्ष एवम् पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनमा पोखरेल प्यानलै लिएर ओलीसँग प्रतिस्पर्धा गर्ने तयारीमा छन्।