४ मंसिर, काठमाडाैं । आज बिहान काभ्रेकाे पाँचखालमा पैदल यात्रुलाई ठक्कर दिई ज्यान लिने यात्रुवाहक बस पूर्व अरनिकाे यातायात समितिकाे भएकाे पुष्टि भएकाे छ ।
समिति अन्तर्गत सुनकाेशी यातायात नाम दिई सिन्धुपाल्चाेककाे बाह्रबिसे र जलबिरे क्षेत्रमा संचालन आइरहेकाे बस रहेकाे खुलेकाे छ । बिहीबार बिहान ७ बजे जलबिरेबाट काठमाडाैं आइरहेकाे बसले ९ बजेतिर अरनिकाे राजमार्गकाे पाँचखाल-तामाघाट सडक खण्डमा जयकृष्ण पार्टी प्यालेस् अगाडि सडक क्रस गर्दै गरेका स्थानीय ६६ वर्षीय दिलबहादुर श्रेष्ठलाई आफ्नै लेनमा ठक्कर दिएकाे प्रत्यक्षदर्शीले बताए । प्रत्यक्षदर्शीका अनुसार पाँचखाल प्रहरी चेकपाेष्ट कटेदेखि नै तीव्र गतिमा हुँकिएकाे बा २ ख ६५६९ नम्बरकाे बसले ठक्कर दिँदा श्रेष्ठकाे घट्नास्थलमै मृत्यु भएकाे थियाे । तर घटनाकाे केहि क्षणमै आइपुगेकाे प्रहरी टाेलीले श्रेष्ठलाई उद्वार गरेर धुलिखेल अस्पताल पुर्याइएकाेमा चिकित्सकले उनलाई तत्कालै मृत घाेषणा गरेका थिए ।
बस चालकलाई प्रहरीले तत्काल नियन्त्रणमा लिएकाे र उनलाई जिल्ला सदरमुकाम धुलिखेल पठाएकाे जनाइएकाे छ । घटना भएदेखि नै मृतकका परिवार, आफन्त र स्थानीयले ढुंगा मुडा थुपारेर मृतक परिवारलाई उचित क्षतिपूर्ति र दाेषी चालकलाई कानूनी कारवाहीकाे माग गर्दै सडक अवरूद्ध पारिरहेका छन् । सडक खुलाउने प्रहरीकाे प्रयास सफल हुन नसकिरहेकाे र समस्या समाधानका लागि सम्बन्धित पक्षका बिचमा वार्ताका लागि समन्वयकाे काेशिस भइरहेकाे एक स्थानीय जनप्रतिनिधिले बताए ।