२० कात्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयअन्तर्गतको नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले आफ्नै स्वामित्वमा रहेको जग्गा र सो जग्गामा निर्माण भएका संरचना प्रयोगकर्तालाई सात दिनभित्र बहालको बक्यौता रकम तिर्न ताकेता गरेको छ ।
अन्यथा जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गर्ने चेतावनी स्काउटको प्रधान कार्यालयले दिएको छ ।
आज प्रकाशित स्काउटको सार्वजनिक सूचना अनुसार स्काउटको जग्गा र त्यहाँका संरचना खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले भाडामा सञ्चालन गर्दै आएको छ । तर भाडा चुक्ता नगर्दा स्काउटलाई अपूरणीय क्षति पुगेको उल्लेख छ । त्यसैले सात दिनभित्र बहालको बक्यौता रकम तिर्न अन्तिम मौका प्रदान गरिएको सूचनामा उल्लेख छ ।
यो खड्का ल्याण्ड प्रा.लि. दीपक खड्काको स्वामित्वमा रहेको छ । उनी उर्जामन्त्री भएका बेला समेत भाडा नतिरेको बिषयले चर्चा पाएको थियो ।
सूचनामा लेखिएको छ, ‘उक्त समयावधिभित्र बहाल तिर्न नआए नेपाल स्काउट र त्यस खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिबीच भएको सम्झौताको बुँदा नं। ४ बमोजिम र मुलकको देवानी संहिता २०७४ को परिच्छेद १२ दफा ६१९, ६२० ९४० र ६२१ बमोजिम जग्गामा निर्माण भएका सम्पूर्ण भवन तथा सामानहरु जफत गरिने र उक्त जफतबाट समेत नपुग हुन आउने रकम घरघराना वा जायजेथाबाट असुल उपर गर्ने व्यहोरा समेत सूचित गरिन्छ ।’