ममताको छहारी हराएको म
हरेक स्पन्दनमा चोट छ
साहारा हराएको मान्छे म
वेसहाराको ट्याग लगाउन खोजिएको छ
तिम्रो पटुकीको फुर्कोले
आसु पुछ्न नपाएको म
आज यो मझधारमा उभिएर
सत्मार्ग खोजिरहेछु आमा
तिमी नै भनिदेउ न मलाई
केही खोजेको छैन मैले
घोर अपमानको चोटमा छु
यो पल
मात्र न्याय चाहिएको छ आमा !
तिमी न्यायमुर्ति
तिमी क्रान्ति वीर
असमानताको पहाड फोड्ने
तिमी अविचलित योद्धा
स्वतन्त्रताको आवाज
तिमी आशाको पुन्ज
तिम्रो अगाध मायाले हो
म क्रान्ति यात्री बनेको
तिम्रो तातेताते सिकाइले हो
कदम चाल्न जानेको
तिम्रो सत्य प्रतिको विश्वासले हो
झुपडीमा दियो बालेको
तिम्रो आदर्शले हो
क्रान्ति गित गुन्जाएको
आज आगो निभाउन खोजिदैछ
चिसो अगेनोमा
फेरी दमन थोपरिदैछ
यो पल
इमानधारीको जीवन चाहिएको छ
मेरो अस्तित्व बाचेको
मात्र न्याय चाहिएको छ आमा !
समय कुदिरहेछ आमा!
म कहासम्म पुग्छु थाहा छैन
तिम्रो प्रेरणा जीवित राखेर
तिम्रो भद्र, शालिन र शिष्ट जीवनशैली
मेरा सहपाठी देखि
मेरो यात्राका हर मनसम्म पुर्याउन
थाकेको छैन गलेको छैन म
मेरो यो अनवरत यात्रामा
पल पल तिम्रो प्रतिष्ठा माथि धावा बोल्छन्
र जेल पठाउछन् विना कसुर
कहिले तिम्रो सन्तती माथि
बेजोड हमला गर्छन् र
लगाउॅंछन् वेनामी कसुर
यो पल म निर्भिक छु
तिमीलाई साक्षी राखेर भन्छु
म कसैको लगौटिया बन्नु छैन
मलाई मात्र न्याय चाहिएको छ आमा !
आमा तिमीले छोडी गएपछि
तिमीले छोडेको रात देखि
कति तड्पिए र रोए
कति भस्मासुर जन्मिए
पाइला पाइलामा अपमानको सुल विझे
क्रुरता विच म अविचलित जीएको छु
यो यात्रामा
कति धेरै पार्टी खुले
जुट्ने ,फुट्ने ,अदल बदल र उतारचढाव
कतै ताली बजे कतै खाली रहे
मलाइ छोएको छैन ताली र खालिले
अन्यायको कठघरा मात्र छ मेरो सामु
यो पल
मात्र न्याय चाहिएको छ आमा !
समूहहरू छन् स्वार्थको खेलमा
निर्दोस मेरै बुवा पटक पटक
पस्नु परेको छ जेलमा
कतै मनको नपुगेर फुट्छन
कतै टाउकाहरू जोडेर
भीमकाय संरचना बनेको ढ्वाङ पिट्छन
पाच कुने तारा राखुन् या फालुन्
यो मेरो यो तेरो जे सुकै भनुन
घाइते र सहिदका काध चढेर
इमान्दार र सोझालाई हुत्याएर
गर्ने सबै तिकडमले मलाइ छोएन
यो पल
मलाइ मात्र न्याय चाहिन्छ आमा !
तिम्रो अभावमा भिजेका परेलीले
न्याय देख्न चाहन्छ
तिम्रो वेदनाले दुखेको मुटु
न्याय धड्कीरहन्छ
तिम्रो सपनाको स्पन्दन
स्तब्धता भित्र आक्रोस बनेर जीएको छ
न्याय मरेको यो दुनियामा
मलाई मात्र न्याय चाहिन्छ आमा ॥
२०८२ कार्तिक १९
(आमा सिता महराकाे पाँचाै स्मृतिमा उच्च सम्मान तथा भावपूर्ण श्रद्धा सहित…)