ललितपुर । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि जारी रहने छ । पार्टी केन्द्रीय कार्यालय, बीपी स्मृति भवन, ललितपुरमा दिउँसो १ बजेबाट बैठक सुरु हुनेछ ।
गत असोज २८ गतेदेखि सुरु भएको बैठकमा भदौ २३ र २४ गतेका जेनजी’ आन्दोलन, अन्तरिम सरकारको गठन र प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति तथा त्यसमा कांग्रेसको भूमिका विषयमा बैठक केन्द्रित रहेको जनाइएको छ ।
जारी केन्द्रीय समितिको आजको बैठकमा धारणा राख्ने केन्द्रीय सदस्यले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नु उपयुक्त हुने धारणा राखेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले बताए ।
हिजोको बैठकमा केन्द्रीय सदस्य मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह लामा , रमा कोइराला, टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रङ्गमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक, लक्ष्मी खतिवडा, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापति इन्द्रबहादुर बानियाँ र अमरसिंह पुनले आआफ्नो धारणा व्यक्त गरेका थिए ।