नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेलले युएईविरूद्ध शतक प्रहार गरेका छन्। आइसिसी विश्वकप लिग–२ अन्तर्गत युएईविरूद्धको खेलमा रोहितले बिहीबार शतक पूरा गरेका हुन्। उनले १३० बलमा १०९ रन बनाएर आउट भएका थिए । उनले दुई छक्का र पाँच चौका प्रहार गरे ।
अन्तर्राष्ट्रिय क्रिकेटमा रोहिको यो दोस्रो एकदिवसीय शतक हो। यसअघि उनले सन् २०२२ मा पपुवा न्युगिनीविरूद्ध घरेलु मैदानमा शतक प्रहार गरेका थिए। सो खेलमा उनले १२६ रन बनाएका थिए।
उनले एकदिवसीय खेलमा ७४ खेल खेल्दा २ शतक र ११ अर्धशतकको मद्दतमा १९ सय रन पूरा गरिसकेका छन्।
भरपर्दो ब्याट्सम्यान रोहितले पछिल्लो समय कुशल कप्तानको छबी बनाएका छन्। उनी सन् २०७९ को कात्तिकमा कप्तान नियुक्त भएका थिए।
कप्तान नियुक्त भएपछि उनले नेपाललाई अभूतपूर्व सफलता दिलाएका छन्। सन् २०२४ मा नेपालले उनको कप्तानी टी–२० विश्वकप खेलेको थियो। आगामी वर्ष पनि उनकै नेतृत्वमा नेपालले टी–२० विश्वकप खेल्दैछ।
पौडेलले १६ वर्षको उमेरमा आफ्नो पहिलो एकदिवसीय खेल खेलेका थिए। तेस्रो खेलमा नै उनले एकदिवसीयमा अर्धशतक बनाएर सबैभन्दा कम उमेरमा यो कीर्तिमान बनाउने खेलाडी बनेका थिए। २० वर्ष ७३ दिनको उमेरमा उनलाई एकदिवसीय टोलीको कप्तान बनाइएको थियो।, जुन एकदिवसीय इतिहासमा दोस्रो सबैभन्दा कम उमेरका कप्तानको रेकर्ड हो।
पौडेल कप्तान बनेको समय नेपाल क्रिकेटका लागि निकै कठिन थियो। तत्कालीन कप्तान सन्दीप लामिछाने बलात्कारको आरोपमा निलम्बित भएपछि नेपाल विश्वकप सुपर लिग २ को अंक तालिकामा पुछारमा थियो। तर पौडेलको कप्तानीमा नेपालले १२ एकदिवसीय खेलमध्ये ११ वटा जितेर २०२३ जुनमा जिम्बाब्वेमा भएको विश्वकप छनोटमा स्थान सुरक्षित गर्यो।
त्यसको केही समयपछि उनलाई टी-२० टोलीको पनि कप्तानी दिइयो र उनको नेतृत्वमा नेपालले २०१४ पछि पहिलो पटक टी-२० विश्वकपका लागि छनोट भयो।
पौडेलले ब्याटिङमा मुख्यत इनिङग्स सम्हाल्ने भूमिका खेलेका छन्। जुन भूमिका उनले बिहीबार युएईविरूद्ध पनि पूरा गरे। उनी एकदिवसीयमा एक हजार रन पूरा गर्ने नेपालका पहिलो ब्याट्सम्यान हुन्। यस्तै उनी नेपालका लागि सबै ढाँचामा सर्वाधिक रन बनाउने खेलाडीमध्ये एक हुन्।
उनले २०७५ को साउनमा नेदरल्यान्ड्सविरूद्धको खेलबाट एकदिवसीय खेलमा डेब्यू गरेका थिए। डेब्यू गर्दा रोहित १५ वर्ष ११ महिनाका थिए। कम उमेरमा ओडिआई डेब्यू गर्ने उनी विश्वकै चौथो कान्छा खेलाडी हुन्।