देउसी भैलोमार्फत मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

देउसी भैलोमार्फत मौलिक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थी

  • मङ्लबार, कार्तिक ४, २०८२
  • मिर्मिरे अनलाइन

  • 24.3K
    SHARES

ढोरपाटन (बागलुङ), ४ कात्तिकः बागलुङमा मौलिक संस्कृतिको संरक्षण गर्न मगर विद्यार्थी जुटेका छन् । पछिल्लो समय विभिन्न चाडपर्वमा नाचिने नाच र गीत लोप हुँदै गएपछि विद्यार्थी संरक्षणमा जुटेका हुन् ।

तिहारमा खेलिने देउसी भैलोसमेत हिन्दी, अङ्ग्रेजी गीतलाई खेल्न थालेपछि मौलिकता हराउँदै गएको भन्दै मौलिकता संरक्षणका लागि यहाँका विद्यार्थीले पहल थालेका हुन् । बागलुङ बजारको चोकचोक र मुख्य सडकमा देउसीभैलो खेल्ने समूहले मौलिकतालाई खास्सै चासो दिएको छैन । हिन्दी, अङ्ग्रेजी र र्‍याप गीत समावेश गरेर नृत्य प्रस्तुत गर्ने गरेका छन् ।

मगर विद्यार्थीले हिन्दी, अङ्ग्रेजी गीतलाई स्थान दिएका छैनन् । उनीहरूले परापूर्वककालदेखि बागलुङमा प्रचलित मारुनी, सोरठी, कौरालगायत गीत र नाचलाई प्राथमिकता दिएका छन् । स–साना बालबालिकादेखि युवायुवतीले पुरानो भागा गाउँदै मगर वेषभूषामा नृत्य प्रदर्शन गर्दा बागलुङ बजारवासीको बढी ध्यान त्यतातिर गएको छ ।

मौलिक संस्कृतिको जगेर्ना र पुस्ता हस्तान्तरणका लागि नेपाल मगर विद्यार्थी सङ्घ जिल्ला कार्यसमितिले यस वर्ष देउसी खेल्न थालेको हो । बजारमा पश्चिमा संस्कृतिको हाबी हुँदै गएपछि त्यसलाई रोक्नका लागि आफूहरु मौलिक संस्कृतिलाई समेटेर देउसी खेल्ने थालेको जिल्लास्थित मगर विद्यार्थी सङ्घका अध्यक्ष कृष्ण अठारे मगरले जानकारी दिनुभयो ।

पुर्खाहरूरुले तिहारका बेला गाउने र नाच्ने नाच पछिल्लो समय लोप हुने अवस्थामा पुगेपछि आफूहरू यसको संरक्षणमा जुटेको उहाँको भनाइ छ । खास गरी तिहारमा मारुनी, सोरठी नाच नाच्नुपर्ने भए पनि पछिल्लो समय हिन्दी र अङ्ग्रेजी गीतमा नाच्ने प्रचलन बढेको अध्यक्ष अठारेले बताउनुभयो । मगर विद्यार्थी सङ्घले बूढापाकाबाट प्रशिक्षण लिएर मौलिक गीत र नाचमा देउसी खेलेको उहाँको भनाइ छ । युवा पुस्तामा पुरानो संस्कृति हस्तान्तरणका लागि पनि आफूहरू लागि रहेको अठारेले बताउनुभयो ।

सोरठी र मारुनी नाच मगर समुदायको पहिचान भएकाले यसलाई सिकेर अन्य युवालाई सिकाउन थालेको सङ्घका सचिव प्रदीप थापामगरले जानकारी दिनुभयो । करिब चार वर्ष बूढापाकाबाट आफूले सोरठी र मारुनी सिकेको उहाँको भनाइ छ । गाउँका टीकाराम थापा, पदम श्रीसलगायतका बुढापाकाहरुबाट सोरठी सिकेपछि मगर विद्यार्थी सङ्घमा आबद्ध विद्यार्थीहरूलाई तालिम दिएर यसपाली देउसी खेल्न थालेको थापाले बताउनुभयो ।

देउसी खेलेर सङ्कलन गरेको रकमले सांस्कृतिक साँझ गर्ने मगर विद्यार्थी सङ्घले जनाएको छ । विद्यार्थी सङ्घले विभिन्न समयमा भाषा, कला र संस्कृति संरक्षणमा काम गर्दै आएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी