असोज ३१ काठमाण्डौँ । नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई शुक्रबार सामोआसँग अन्तिम खेल खेल्दैछ ।
आइसिसी टी–२० विश्वकपअन्तर्गत एसियन प्यासिफिक छनोट प्रतियोगिताको विजेता बन्ने अवसर छ । ओमानमा चलिरहेको छनोटमा अहिलेसम्म अपराजित नेपालले तुलनात्मक रुपमा कमजोर मानिएको सामोआलाई हराउन सक्ने अपेक्षा गरिएको छ ।
ओमानको अल अमेरात क्रिकेट मैदानमा खेल दिउँसो सवा ४ बजेपछि शुरु हुनेछ ।
नेपालले सुपर सिक्समा आठ अंक बटुल्दै शीर्ष स्थान बलियो बनाएको छ । आयोजक ओमान ६ अंकका साथ दोस्रो स्थानमा छ । ओमान र नेपाल दुई अगाडि नै आगामी वर्ष भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्ने टी–२० विश्वकपमा स्थान पक्का पारेका थिए । प्रतियोगिताको बिहीबार जापानमाथिको सहज जितका साथ युएईले पनि विश्वकपमा स्थान सुरक्षित गरेको छ । आगामी विश्वकपमा सहभागी हुने २० वटै टोलीको छिनोफानो भएको छ ।
नेपालका कप्तान रोहितकुमार पौडेलले अन्तिम खेलमा जितका साथ च्याम्पियन हुने बताएका छन् । ‘हामी च्याम्पियन भएर नेपाल फर्कनेछौँ,’ बुधबार ओमानमाथि ३८ रनले हराएपछि रोहितले भने, ‘अहिले सबै फर्ममा छन् ।’ नेपालका अस्ट्रेलियन प्रशिक्षक स्टुवार्ट ल पनि लगातार पाँच जित निकाल्नेमा आत्मविश्वासी देखिन्छन् । सामोआविरुद्ध अहिलेसम्म अवसर नपाएका खेलाडीहरूलाई उनले मौका दिने योजना बनाएका छन् ।
जापान, कतार र सामोआ विश्वकप छनोट दौडबाट बाहिरिएका छन् ।