काठमाडौ इजरायली अधिकारीले परिवारजनलाई सम्पर्क गरेर दुई वर्षअघि हमासको कब्जामा रहेका बिविन जोशी जीवित नभएको जानकारी दिएका छन् । आज इजरायली प्रधानमन्त्री कार्यालयका अधिकारी, इजरायली सेनाको कमाण्डरले अमेरिकामा रहेका आमा र बहिनीलाई तथा नेपालमा रहेका आफन्त किशोर जोशीलाई भर्खरै यो जानकारी दिएको इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिए।
इजरायली सेना आईडीएफका एक अधिकारीले इजरायलको स्थानीय समय अनुसार आज बिहान साढे ७ बजे विपिन जीवित नरहेको औपचारिक जानकारी दिएका हुन् । ती अधिकारीले इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित, अमेरिकामा रहेकी विपिनकी बहिनी, नेपालमा रहेका विपिनका दाजु किशोर र इजरायलको प्रधानमन्त्री कार्यालयका दुई अधिकारीहरुलाई भिडियो कन्फरेन्समा जोडेर विपिन जीवित नरहेको औपचारिक जानकारी दिएको हुन् ।
अध्ययनको सिलसिलामा इजरायल पुगेका कञ्चनपुरका विपिन जोशी गत अक्टुबर ७ मा हमासले किबुत्ज क्षेत्रमा गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए । सो आक्रमणको क्रममा १० जना नेपाली विद्यार्थीहरु मारिएका थिए । हमास लडाकुहरुले विपिनलाई आफूसँगै लिएर गएका थिए ।
विपिनको अवस्था पत्ता लगाउन भन्दै सरकारको पहलमा विपिनकी आमा र बहिनी यसअघि इजरायल गएर फर्किएका थिए । त्यसपछि अहिले उनीहरु अमेरिकामा छन् ।
विपिनको अवस्था सार्वजनिक गराउने सरकारको कूटनीतिक प्रयास जारी रहे पनि त्यसमा खास प्रगति देखिएन ।
हमास समूहले उनलाई किबुज आलुमिमबाट २०८० असोज २३ मा अपहरण गरेको थियो। उनी सोही वर्ष मंसिरसम्म जीवित रहेको भिडयो सार्वजनिक भएको थियो।हमास समूहले आज उसको कब्जामा रहेकी २० जनालाई इजरायल समक्ष हस्तान्तरण गर्दैछ। उनको शवको बारेमा पनि यकिन छैन ।