काठमाडौं । आइसिसी टी – २० विश्वकप एसिया तथा पूर्वी एसिया प्यासिफिक क्षेत्र छनोटअन्तर्गत नेपालले सुपर सिक्सको दोस्रो खेलमा आज कतारसँग खेल्दैछ। हिजो युएई बिरुद्ध अन्तिम ओभरमा सनसनीपूर्ण प्रदर्शन गर्दै एक रनको जित निकालेको नेपालले कतारमाथि हावी हुँदै विश्वकपको यात्रा सहज बनाउने लक्ष्य लिएको छ ।
नेपाल र कतारबीचको खेल नेपाली समयअनुसार बेलुकाको ८ः ४५ बजे ओमानस्थित अल अमेरोत क्रिकेट स्टेडियमको ट्रफ १ मा हुनेछ ।
कतार भने सुपरसिक्स अन्तर्गतको पहिलो खेलमा ओमानसँग पराजित भएको थियो। प्रतियोगिता सुरु हुनु अगाडि नेपाल र कतारले वार्म अप खेल खेलेका थिए। यसमा नेपाल बिजयी भएको थियो ।
नेपालले सुपरसिक्स अन्तर्गतको तेस्रो खेल बुधबार सामोआ र शुक्रबार ओमानसँग खेल्नेछ।
आज जितेर बाँकी एक खेल जितेमा नेपाल आगामी २०२६ मा भारत र श्रीलकामा हुने विश्वकपमा नेपाल छनौट हुने छ ।