असोज २६ काठमाण्डौँ । ओमनको रंगशालामा उपस्थित हजारौ नेपाली दर्शक र युट्युबमा हेरिरहेका लाखौँ दर्शकलाई लागेको थियो आज नेपाल युएई बिरुद्ध हार्ला जस्तो छ । किन भने ८१ रन बनाउदा सम्म युएईको एक विकेट मात्र झारिएको थियो । युएईका कप्तान अलिशान सराफू ५८ रन बनाएर खेलिरहेका थिए ।
जब विकेटहरु झर्न थाल्यो दर्शक केही आशावादी त बनेका थिए तर १४१ रनको लक्ष्य यूएईका लागि सजिलै हुन्छ भन्ने अनुमान थियो ।
तर नेपाली टाईगरको परिचय बनाएका दीपेन्द्र सिंह ऐरीले कप्तान आलिशानलाई आउट गरे । त्यसपछि फेरी अर्को विकेट लिएका उनले सन्दीपको बलमा अर्का एक ब्याटरलाई आश्चर्यजनक रन आउट गराए ।
त्यसपछि फाईनल ओभरमा पुनः कप्तान रोहितले ऐरीलाई नै बलिङमा पठाए । त्यसपछि दिपेन्द्रले पहिलो बलमा एक रन दिए । दोस्रो बल डट राखे र तेस्रो बलमा छक्का भयो र नेपाली टिमले दबाब महसुस गर्यो ।
तर चौथो बलमा दिपेन्द्रको बललाई सट हान्दा सन्दीप जोराको हातबाट युएईका हाईदर अलीलाई आउट गरे । त्यसपछि पाँचौ बलमा दुई रन बनाउदा खोज्दा युएईका ब्याटरले ब्याटै फालेर दौड्ने प्रयास गर्दा लामो दुरीबाट सन्दीप जोराले डिरेक्ट हिट गरी रन आउट गराए । र अन्तिम बलमा पनि युएईका ब्याटर १३८ रनमा रन आउट भएपछि खेल नेपालको पक्षमा गयो र दीपेन्द्र नायक सावित भए ।
आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सुपर सिक्सको आफ्नो पहिलो खेलमा चीर प्रतिद्वन्द्वी संयुक्त अरब एमिरेन्ट्स ९यूएई०माथि रोमाञ्चक जित निकाल्दै नेपालले लगातार दोस्रोपटक विश्वकप खेल्ने सम्भावना बलियो बनाएको छ। नेपाल र यूएईलाई विश्वकपनजिक पुग्न आजको खेलमा जितको आवश्यक थियो।
आइतबार भएको खेलमा यूएईलाई १ रनले पराजित गर्दै नेपालले सुपर सिक्समा ४ अंक बनाएको हो। नेपालले २ अंक समूह चरणमा जापानलाई हराउँदै पाएको थियो। आजै भएको सुपर सिक्सको पहिलो खेलमा कतारलाई ३४ रनले पराजित गर्दै ओमानले अंक तालिकामा ४ अंक बनाउँदै शीर्ष स्थानमा छ।
ओमानसँगै समान ४ अंक भए पनि नेपाल नेट रनरेटमा पछि पर्दै दोस्रो स्थानमा छ। नेपालसँग पराजित भए पनि २ अंक भएको यूएई तालिकाको तेस्रो स्थानमा छ।
एसोसियट एल क्लासिको भिडन्तमा नेपालले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको यूएईले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो।
यूएईका लागि अलिसान सराफुले सर्वाधिक ५८ रनको योगदान दिए पनि टोलीको हार टार्न सकेनन्। ४० बलमा ३ चौका र ५ छक्का प्रहार गरेका अलिसान दिपेन्द्र सिंह ऐरिको बलमा बोल्ड आउट हुन पुगे।
ओपनर जोनाथन फीजी १९ रनमा पेभेलियन फर्के। ध्रुभ परासनले ३२ रन बनाए। १९ औँ ओभरको अन्तिम बलमा ध्रुभ परासरले नन्दन यादवलाई छक्का प्रहार गरेपछि नेपाल दबाबमा आएको थियो।
यद्यपी अन्तिम ओभरको तेस्रो बलमा सरासरले दिपेन्द्र सिंह ऐरिलाई छक्का हानेपछि नेपाल हारनजिक पुगेको थियो तर चौथो बलमा सन्दीप जोराले परासरलाई क्याच आउट गराउँदै पेभेलियनको बाटो देखाए।
पाचौँ ओभरमा हैडर अलीलाई सन्दीप जोराले रन आउट गराएपछि नेपालले केही राहत महसुस गरेको थियो। ओभरको अन्तिम बलमा जैद अली रन आउट भएपछि नेपालले युएईमाथि रोमाञ्चक जित निकालेको हो।
नेपालका लागि दिपेन्द्र सिंह ऐरिले ३ विकेट झारे। सोमपाल कामी, गुल्सन झा र सन्दीप लामिछानेले समान एक विकेट लिए ।
ओमानको अल एमिरेट क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो ।
२६ बलमा २ चौका र २ छक्का सहयोगमा २८ रन बनाएका कुशल भुर्तेल हर्सित कौशिकको बलमा एलबीडब्लू धरापमा परे।
१९ बलमा १ चौका सहयोगमा २० रन बनाएका कप्तान रोहित पौडेल मुहम्मद रोहिदको बलमा क्याच आउट हुन पुगे।
आशिफ शेख ५१ रन बनाउँदा ध्रुभ पारासरको बलमा बोल्ड आउट भए। ४७ बलमा ४ चौका र १ छक्का हानेका आशिफ १६ औँ ओभरमा पेभेलियन फर्के।
दिपेन्द्र सिंह ऐरि १ रनमा क्याच आउट भए। गुल्सन झा ५ बल २ चौका र १ छक्का सहयोगमा १४ रन बनाउँदा क्याच आउट नै हुन पुगे। १८ औँ ओभरमा गुल्सनले पहिलो बल डट राखे। दोस्रो बलमा चौका, तेस्रो बलमा छक्का र चौथो बलमा चौका प्रहार गरे। तर पाचौँ बलमा क्याच आउट हुन पुगे।
कुशल मल्ल १० रन बनाउँदा क्याच आउट नै भए। सन्दीप जोरा ४ र सोमपाल कामी ६ रनमा नटआउट रहे।
युएईका लागि हर्सित कौशिक, ध्रुभ पारासर, जाहिद अली, हाइडर अली, जुनैद सिद्दीकी र मुहम्मद रोहिदले समान एक विकेट आफ्नो नाममा गरे।
अब नेपालले कतार, ओमन र साओमीसँग खेल्न बाँकी रहेको छ ।