असोज २२ काठमाण्डौँ । टी–२० विश्वकप क्रिकेट छनोटमा नेपालले विजयी सुरुवात गरेको छ।
ओमनमा जारी ग्रुप बीअन्तर्गतको कुवेतविरुद्धको खेलमा नेपाल ५८ रनले विजयी भएको हो। नेपालले दिएको १४२ रनको लक्ष्य पछ्याएको कुवेत १८.१ ओभरमा ८३ रन बनाएर अलआउट भएको हो ।
कुवेतका लागि क्लिन्टो अन्टोले सर्वाधिक २६ रन बनाए भने यासिन पटेलले १९ रन बनाए ।
नेपालका लागि ललित राजवंशी, सन्दीप लामिछाने र रोहित पौडेलले २(२ विकेट लिए भने कुशल भुर्तेल, सोमपाल कामी र नन्दन यादवले १-१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले ओपनिङ ब्याटर कुशल भुर्तेलको अर्धशतक मद्दतमा २० ओभरमा ७ विकेट गुमाएर १४१ रन बनाएर कुवेतलाई १४२ रनको लक्ष्य दिएको थियो ।
भुर्तेलले ५६ बलमा ३ चौका र ३ छक्कासहित ६६ रन बनाए । दीपेन्द्रसिंह ऐरी २० रनमा रनआउट भए । गुल्शन झाले ६ बलमा २० रनको क्यामिओ पारी खेले । उनले १९औं ओभरको अन्तिम ३ बलमा लगातार ३ छक्का प्रहार गरेका थिए ।
कुवेतका लागि अनुदीप चेन्थामाराले ४ ओभरमा २२ रन दिएर २ विकेट लिए । नवीन राजले ४ ओभरमा ४० रन दिएर २ विकेट लिए । मोहम्मद असलम र अकिफ फारुकले १–१ विकेट लिए ।
यो जितसँगै नेपाल सुपर सिक्समा पुग्ने देखिएको छ । अब नेपालले समूह चरणको अर्को खेलमा शुक्रबार जापानसँग खेल्नेछ ।