सप्तकोसी आसपासका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनको आग्रह

सप्तकोसी आसपासका बासिन्दालाई सतर्क रहन स्थानीय प्रशासनको आग्रह

  • शनिबार, अशोज १८, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.7K
    SHARES

असोज १८, सुनसरी । देशभर लगातार भइरहेको वर्षासँगै सप्तकोसी नदीको जलस्तरमा वृद्धि हुन सक्ने सम्भावना बढेपछि सुनसरी प्रशासनले सप्तकोसी आसपासका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ।

शनिबार प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्र, जिल्ला प्रहरी प्रमुख एसपी केशब कुमार थेबे, सशस्त्र प्रहरीका प्रमुख, नेपाली सेनाका प्रतिनिधि तथा जिल्ला विपद् व्यवस्थापन समितिका सदस्यहरूको टोलीले सप्तकोसी ब्यारेजदेखि चतरा पुलसम्म स्थलगत अनुगमन गरेको हो।

अनुगमनपछि एसपी थेबेले अहिले कोशी नदीको बहाब सामान्य रहेको र तत्काल कुनै ठूलो जोखिमको स्थिति नभए पनि निरन्तर निगरानी राखिएको जानकारी दिए। उनका अनुसार विगतका वर्षझैँ आकस्मिक बाढीको सम्भावना नटारिएकाले किनार नजिकका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको हो।

‘कोशीको बहाब अहिले सामान्य देखिएको छ, तर निरन्तर वर्षा भइरहेकोले जलस्तर बढ्ने सम्भावना रहन्छ,’ एसपी थेबेले भने, ‘चतरा, चक्रघट्टी, प्रकासपुर, मधुवन, भ्यान्टाबारी आसपासका स्थानीयलाई राति विशेष सावधानी अपनाउन अनुरोध गरिएको छ।’

इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार सप्तकोसी आसपासका क्षेत्रमा सम्भावित जोखिम न्यूनीकरणका लागि २५ जना प्रहरीको विशेष टोली तयारी अवस्थामा राखिएको छ। साथै, स्थानीय टोल विकास समिति, रेडक्रस र वडा कार्यालयहरूलाई पनि सतर्क रहन सूचना दिइएको छ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी मिश्रले बाढीको जोखिम सम्भावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक परे सुरक्षित स्थानतर्फ सर्न, राति सचेत रहन र कुनै पनि असामान्य गतिविधि वा नदीको बहाब बढेको अनुभव भए तुरुन्तै नजिकको प्रहरी वा स्थानीय प्रशासनलाई जानकारी दिन आग्रह गरेको छ।

सुनसरी जिल्ला विपद् व्यवस्थापन समितिले मौसम र जलस्रोत विभागसँग निरन्तर समन्वय गर्दै कोशीको जलस्तर र वर्षाको अवस्थाबारे नियमित अनुगमन भइरहेको जनाएको छ। प्रशासनले आपतकालीन उद्धारका लागि सुरक्षाकर्मी, डुङ्गा, एम्बुलेन्स र राहत सामग्री समेत तयारी अवस्थामा राखेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ