वेस्ट इन्डिजसँगको ऐतिहासिक टी–२० आई सिरिजअन्तर्गत अन्तिम खेलमा नेपाल पराजित भएको छ।
अन्तिम खेलमा १० विकेटको फराकिलो हार व्यहोरेको हो । नेपालले पहिला ब्याटिङ गर्दै दिएको १२३ रनको लक्ष्य वेष्ट ईन्डिजले १२.२ ओभरमा विना विकेटको क्षतिमा पूरा गर्यो । नेपालले तीन खेलको सिरिजमा २–१ ले जित निकालेर आफ्नो पक्षमा पारीसकेको छ ।
नेपालले पहिलो खेलमा १९ रनको जित निकाल्दै पूर्ण टेस्ट टोलीमाथि ऐतिहासिक जित निकालेको थियो। दोस्रो खेलमा वेस्ट इन्डिजलाई ८३ रनमा अलआउट गर्दा नेपालले ९० रनको फराकिलो जित दर्ता गरेको थियो। लगातार दोस्रो जितसँगै नेपालले उपाधि आफ्नो पक्षमा पारेको थियो।
अन्तिम खेलमा वेष्ट ईन्डिजका लागि अमिर जांगो र अकिम अगस्तेले १२३ रनको साझेदारी गरे। अमिर ७४ र अकिम ४१ रनमा अविजित रहे।
युएईको शारजाहस्थित शारजाह क्रिकेट मैदानमा वेस्ट इन्डिजले टस जितेर फिल्डिङ रोजेपछि पहिला ब्याटिङ गरेको नेपाल १ बलअगावै १२२ रनमै अलआउट भएको थियो।
ओपनर कुशल भुर्तेलले बनाएको ३९ रन नै नेपालका लागि सर्वाधिक रह्यो। २९ बलमा २ चौका र ३ छक्का प्रहार गरेका कुशल क्याच आउट हुन पुगे।
कप्तान रोहित पौडेलले १७ रन बनाए ।
कुशल मल्लले १२ र गुल्सन झा १० रन बनाउँदै पेभेलियन फर्के।
आरिफ शेख ६ रनमा आउट भए। मोहम्मद आदिल आलम ३ रनमा रनआउट हुन पुगे।
सन्दीप जोरा १४ रन बनाउँदा क्याच आउट भए। सोमपाल कामी ४ रनमा एलबीडब्लु धरापमा परे। करण केसी डक आउट भए।
लोकेश बम ९ रनमा क्याच आउट भए।
वेस्ट इन्डिजका लागि रामोन सिमोन्डले ४ विकेट लिए। रामोनले आफ्नो टी–२० आई करियरमा पहिलो पटक ४ विकेट लिएका हुन्।
जेडिज ब्लाडेसले २ विकेट झारे। अकिल होसैन र जासोन होल्डरले समान एक विकेट आफ्नो नाममा गरे।
नेपाली बलरहरुले भने विकेट लिन सकेनन् ।