तीन महिनादेखि खर्वाङ–सिसाखानी सडक अवरुद्ध, श्रमदानमा जुटे स्थानीय

तीन महिनादेखि खर्वाङ–सिसाखानी सडक अवरुद्ध, श्रमदानमा जुटे स्थानीय

  • बुधबार, अशोज ८, २०८२
  • मिर्मिरे अनलाइन

  • 1.5K
    SHARES

गलकोट (बागलुङ), ८ असोज : बागलुङको बडिगाड गाउँपालिका–३ सिसाखानी जाने खर्वाङ–सिसाखानी सडक असारयता ठप्प छ । जोर्तीखोलाको ज्गाकिन जाली बाढीले बगाएपछि सडक अवरुद्ध भएको थियो । त्यसयता दर्जन बढी स्थानमा सानाठूला पहिरो खसेर सडक अवरुद्ध भएपछि सडक खुलाउन स्थानीय सक्रिय भएर श्रमदानमा जुटेका छन् ।

दसैँ सुरु भईसक्दासमेत सवारी चल्न नसकेपछि स्थानीय श्रमदानमार्फत सडक मर्मत गरेर सञ्चालनमा ल्याउन हप्तादिनदेखि कस्सिएका छन् । मध्यपहाडी लोकमार्गको खर्बाङदेखि सिसाखानी जाने झण्डै १२ किमी सडकको पहिरोग्रस्त क्षेत्र र जोर्तीखोलामा ग्याबिन भर्ने काममा एक हप्तादेखि स्थानीय श्रमदानमा खटिएका छन् ।

सिसाखानी जाने सडकमध्ये खर्बाङ–सिसाखानी, खर्बाङ ताकमसेरा र रिगा–किटेनी–सिसाखानी सडक बन्द भएपछि स्थानीयहरूले दसैँको टीकाअघिसम्म सडक मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी थालिएको छ ।

सडक खुलाउन गाउँपालिकाले पहल नगरेपछि दसैँमा घर आउने र खाद्यन्न सामग्री ल्याउन सकस भएको भन्दै चार दिनदेखि सडक मर्मतमा खटिएको सिसाखानीका स्थानीय सरिता रोका भुजेलले जानकारी दिनुभयो ।

उहाँले अहिले सिसाखानीको साविक ४, ५, ६ वडाका बासिन्दा श्रमदानमा जुटेर मुख्य सडकका रूपमा रहेको खर्बाङ–सिसाखानी सडक सञ्चालनमा ल्याउन काममा खटिरहेका छन् । अहिले मुख्यगरी जोर्तीखोला बढेका कारण सडक समस्या भएकाले जोर्तीखोलामा ग्याबिन जाली भरेर सडक खुलाउने काम भइरहेको भुजेलले जानकारी दिनुभयो ।

“गत वर्ष पालिकाको खर्चमा ग्याबिन भरिएको थियो, गत वर्ष नै बाढीले बगाएपछि सडक सञ्चालन गर्न सकिएन, यो वर्ष वडाले ग्याबिन जाली खरिद गरेको र स्थानीय १५० भन्दाबढीको सहभागितामा जाली भरिएको छ, ट्र्याक्टरले निःशुल्क सामग्री ढुवानी गरेको छ”, भुजेलले भन्नुभयो, “कम्तीमा दसैँमा छोराछोरी घरमै आउन गाडी चढेर भन्ने छ, हेरौँ, दुई/चार दिनमा त सडक खुला, वडा कार्यालयको बजेटले सिङ्गो वडाका सडक मर्मत गर्न निकै चुनौती रहेछ ।”

वडा कार्यालयले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु पाँच लाख सडक मर्मत खर्चले ग्याबिन, आवश्यक स्थानमा सिमेन्ट मात्रै खरिद गरेको र सम्पूर्ण वडावासीलाई श्रमदानमा जुट्न आग्रह गरेको बडिगाड गाउँपालिका–३ सिसाखानीको वडाध्यक्ष खड्क पुनले जानकारी दिनुभयो ।

उहाँले दसैँअघिसम्म सडक सञ्चालन गर्नेगरी विभिन्न स्थानमा सडक श्रमदानबाट मर्मत भइरहेको र जोर्तीखोलामा ग्याबिनमाथिबाट सवारीसाधन सञ्चालन गर्ने तयारी भएको बताउनुभयो । उहाँले जोर्तीखोलामा मोटरेबल पुल नहुँदा बर्खामा सधैँ सास्ती भइरहेको बताउनुभयो ।

बडिगाड गाउँपालिका–५ मा पनि स्थानीयले श्रमदानमार्फत सडक मर्मत गरेका छन् । चाडबाडको मुखमा स्थानीय जोखिमपूर्ण यात्रा गर्न बाध्य भएपछि स्थानीयहरू जुटेर पाँच किमी सडक श्रमदानबाट मर्मत गरिएको स्थानीय लोकनाथ घिमिरेले जानकारी दिनुभयो ।

गाउँपालिकाले बजेट अभावमा डोजर पठाउन नसकेपछि दसैँको मुखमा हिलाम्मे सडकमा खाल्टाखुल्टी पुरिएको, पहिरो पन्छाइएको र सोलिङसमेत गरिएको घिमिरेले बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी