जेनजीसँगको झडपमा दुई सयभन्दा बढी सुरक्षाकर्मी घाइते

जेनजीसँगको झडपमा दुई सयभन्दा बढी सुरक्षाकर्मी घाइते

  • सोमवार, भदौ २३, २०८२
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

काठमाडौँ, २३ भदौः जेनजी प्रदर्शन एक्कासी उग्र बन्दै गएपछि नियन्त्रणमा लिने क्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका करिब दुई सयभन्दा बढी सुरक्षाकर्मी घाइते भएका छन् ।

निषेधित क्षेत्रमा केन्द्रित प्रदर्शनलाई नियन्त्रण लिने र शान्ति सुरक्षा कायम गर्ने क्रममा नेपाल प्रहरीतर्फ १७८ र सशस्त्र प्रहरी बलतर्फ ३० जनाभन्दा बढी घाइते भएका छन् । नेपाल प्रहरीका घाइतेमध्ये ३८ जनाको उपचार भइरहेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक बिनोद घिमिरेले जानकारी दिनुभयो ।

नयाँ बनेश्वरस्थित सङ्घीय संसद् भवनभित्र प्रवेश गर्न खोजेका आन्दोलनकारी र प्रहरीबीच आज दिनभरजसो झडप भएको थियो । त्यसक्रममा प्रदर्शनकारीले संसद् भवन पर्खाल तोडफोड र भवनको दक्षिणतर्फको प्रहरी क्वार्टरमा आगजनी गरेका थिए । प्रदर्शनकारीले सोही ठाउँमा सशस्त्र प्रहरीको एम्बुलेन्समा आगो लगाएका थिए ।

प्रदर्शनकारीले संसद् भवनलाई घेरा हाली प्रवेशका लागि पटकपटक प्रयास गरेका थिए । त्यसक्रममा दुई पक्षबीच झडप परिरह्यो । हालसम्म प्राप्त विवरणअनुसार १९ जनाको मृत्यु र तीन सयभन्दा बढी घाइते भएका छन् । घाइतेहरुको निजमती अस्पताल, एभरेष्ट अस्पताल, ट्रमा सेन्टर, वीर अस्पतालमा उपचार भइरहेको छ । आन्दोलनको समाचार सङ्कलनमा खटिइएका चार जना पत्रकार पनि घाइते भएका छन् ।

आन्दोलनकारीले प्रहार गरेको ढुङ्गा, इँटा, सिसाका बोतल लागेर घाइते भएका सुरक्षाकर्मीलाई संसद् भवनभित्र रहेको स्वास्थ्योपचार केन्द्रमा उपचार गरिएको थियो । सुरक्षाकर्मीको टाउको, हात, मुखलगायत अङ्गमा चोट लागेको छ । सङ्घीय संसद् सचिवलयका चिकित्सक पुष्पराज रिजाललाई घाइते सुरक्षाकर्मीको प्राथमिक उपचार गर्न भ्याइनभ्याइ परेको थियो । प्राथमिक उपचारपछि गम्भीर घाइते सुरक्षाकर्मीलाई थप उपचारका लागि नेपाल प्रहरी अस्पताल ‘रेफर’ गरिएको थियो ।

अहिले काठमाडौँ उपत्यकासहित देशभरको अवस्था सामन्य रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ