महेन्द्रनगर (धनुषा), १० भदौः
परिवारको सुख, समृद्धिको कामना गर्दै मिथिलाञ्चल क्षेत्रमा हर्षोल्लासका साथ आज चौठचन्द्र अर्थात् चौरचन पर्व मनाइँदै छ । उदाउँदो चन्द्रमालाई अर्घ दिएर यो पर्व मनाउने गरिन्छ । विशेषगरी तराई–मधेसमा बसोबास गर्नुहुने हिन्दू धर्मावलम्बीका घरघरमा परिवारको सुख र समृद्धिको कामना गर्दै यो पर्व मनाउने प्रचलन रहेको संस्कृतिविद् काशिकान्त झाले बताउनुभयो ।
गणेश चतुर्थीका दिन साँझ बर्तालुहरूले आ–आफ्ना घरको आँगन तथा कौसीबाट उदाउँदो चन्द्रमालाई अर्घ दिएर यो पर्व मनाउने गर्दछन् । संस्कृतिविद् झाका अनुसार भगवान् गणेशको श्रापबाट मुक्त हुन चन्द्रमाको पूजा गर्ने धार्मिक जनविश्वाससहित चौरचन पर्व मनाउने प्रचलन रहिआएको छ ।
पण्डित कुशेश्वर उपाध्यायले भन्नुभयो, “चन्द्रमाले गणेशको पूजा गरेपछि गणेश प्रसन्न भएर श्रापमुक्त गरिदिनुभएको, भदौ महिनाको शुक्ल चतुर्थीका दिन जसले तिमीलाई हेर्नेछ, उसलाई कलङ्क लाग्दैन, पापबाट उसले मुक्ति पाउनेछ र चतुर्थीको चन्द्रमा दर्शन गरेपछि मनोवाञ्छित फलसमेत प्राप्ति हुन्छ भनी गणेशले भन्नुभएको विषय धार्मिक शास्त्रमा उल्लेख छ । सोही धार्मिक जनविश्वासलाई आत्मसात् गरी विशेष महत्वका साथ मिथिलाञ्चल क्षेत्रमा बडो निष्ठापूर्वक यो पर्व मनाइँदै आएको छ ।”
यस पर्वमा बर्तालु महिला दिनभर निराहार रहेर पुरी, खीर तथा विभिन्न प्रकारका पकवानहरू बनाउने गदर्छन् । यसैगरी मिठाइका प्रकारहरू तयार गरी दही, नरिवल, केरालगायत उपलब्ध फलफूलसमेत पूजा सामग्रीका रूपमा राख्ने गरिन्छ । माटाको भाँडामा दही जमाएर चढाउने यस पर्वको विशिष्टता रहेको छ । पर्व प्रयोजनका लागि दूधलाई राम्रोसँग तताएर छालीसमेत ननिकाली नयाँ भाँडोमा दही जमाइन्छ ।
चौठीचान बाबाको प्रतीकका रूपमा चन्द्रमालाई अर्घ दिनका लागि बर्तालु महिलाले पुरी तथा खीर बनाउनका लागि प्रयोग गरिने चामल निकै सावधानीपूर्वक राख्ने गरिन्छ । कुटानी–पिसानीसमेत पवित्रताका साथ गरिन्छ । चौरचनका लागि शुद्धता होस् भनी जाँतोमा चामल पिँधेर पिठो तयार गरी पुरी बनाइन्छ । सोही पिठोबाट पुरी, पेरुकिया, खजुरिया आदि बनाइने प्रचलन अहिले पनि रहिआएको छ ।
साथै निष्ठापूर्वक यो पर्व मनाएमा ‘चर्मरोग’ निको हुनेसमेत जनविश्वास रहेकोे आध्यात्मिक गुरु नयनकुमार रायले बताउनुभयो । उहाँले भन्नुभयो, “यस पर्व मनाउने क्रममा साँझको समयमा घरको आँगनमा माटो र गोबरले लिपपोत गरिन्छ । उक्त स्थानमा चामललाई पिँधेर बनाइएको घोल (पिठार)ले अरिपन (चौका) लगाइन्छ । त्यसपछि ‘चौठीचान’लाई चढाउनका लागि तयार पारिएको पुरी, खजुरिया, पेरुकीया, खीर, फलफूल, दहीलगायत पकवान तथा मिष्ठान्नहरू सजाएर राखिन्छ ।”
त्यसैगरी पूजास्थलमै बस्नका लागि पिर्का वा आसन राखिएको हुन्छ । बस्नका लागि राखिएको पिर्काअगाडि केराको पातमा प्रसादका रुपमा विभिन्न परिकारहरू चढाउने गरिन्छ ।
सूर्य अस्ताएपछि साँझ हँसिया आकारको उदाउँदो चन्द्रमालाई सम्पूर्ण सामग्रीको अर्घ दिइन्छ । यसैगरी सम्पूर्ण परिकार तथा पकवानहरू चौठीचान ९चौठचन्द्र० लाई समर्पण गरिसकेपछि अन्त्यमा जलढार ९जलब चढाएर० गरिन्छ । त्यसपछि परिवारका पुरुष सदस्य ‘मडर’मा बसेर प्रसाद ग्रहण गर्दछन् । अर्घ दिएपछि परिवारका अन्य सदस्यहरूसमेत प्रसाद ग्रहण गर्दछन् ।
हँसिया आकारको चन्द्रमा पश्चिम–दक्षिणतर्फ आकाशमा देखिएपछि अर्घ दिइन्छ । कुनै वर्ष कालो बादल लागेर वा पानी परेर चन्द्रमा आकाशमा नदेखेपछि केहीबेर हात जोडेर दर्शन दिन बिन्ती गरिन्छ ।
यसका अतिरिक्त प्रायः पर्वहरू घरपरिवार तथा परिवारजनको सुख–समुद्धिका लागि गरिन्छ तर यो पर्व भने घरमा पालिएका पशुचौपायाका लागि समेत गरिन्छ ।
चौरचन पर्वमा आँगनमाझमा गाईको गोबरले लिपेर चामलको पिठोले बनाइएको अरिपन (चतुष्कोण) यज्ञस्थलमा दीप प्रज्वलित गर्दै बर्तालुले फलफूल र मिष्ठान्न परिकार चन्द्रमालाई देखाएर पर्व समापन गर्ने परम्परा रहिआएको छ ।