२९ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने भएका छन् । उनी शांघाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा भाग लिन भदौ १४ गते चीन जान तय भएको हो । साथै चीनले जापानी फासीबादका बिरुद्ध चीनले बिजय प्राप्त गरेको ८० औँ बार्षिकोत्सवका अवसरमा आयोजित समारोहमा पनि सहभागीता जनाउने छन् ।
सम्मेलन भदौ १५ र १६ गते बेइजिङमा आयोजना हुँदैछ ।
यो सम्मेलनको उद्घाटन चिनियाँ राष्ट्रपति सी जिनपिङले गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका अन्य देशका सरकार तथा राष्ट्र प्रमुख पनि सो सम्मेलनमा सहभागी हुँदैछन् ।
सम्मेलनमा सहभागिताको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति र भारतीय समकक्षीसँग भेटवार्ता गर्ने तयारी भएको छ ।
शांघाई सहयोग संगठन (एससीओ) क्षेत्रीय स्थीरतालाई प्रवर्द्धन गर्ने उद्देश्यले सन् २००१ मा यसको स्थापना भएको थियो । यस संगठनमा १० देशहरु सदस्य छन् ।
यस संगठनमा चीनसहित काजकस्तान, किर्गिस्तान, ताजकिस्तान, इज्वेकिस्तान, रुस, भारत, पाकिस्तान, इरान र बेलारुस सदस्य छन् ।
नेपाल सन् २०१६ देखि यो संगठनको सम्वाद साझेदार बनेको थियो ।