२०८४ सालसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ : प्रधानमन्त्री

२०८४ सालसम्म यही राजनीतिक समीकरण अगाडि बढ्छ : प्रधानमन्त्री

  • बुधबार, साउन २८, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.7K
    SHARES

काठमाडौँ, २८ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले भीडद्वारा कुनै एक अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राखिएका आधारमा न्यायको हत्या गरेर अभियोगमुक्त हुन खोज्नेहरुबाट समयले यसको जवाफ सधैं माग्ने बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भीडको पछि लागेर कुद्ने भीड अचम्मको मात्र होइन दयालाग्दो पनि भएको टिप्पणी गर्नुभयो । “लाखौँ जनताले सहकारीमा गरेको वचत हिनामिना गर्ने सयौँ व्यक्तिमाथि न्यायालयमा मुद्दा चलेको छ । अदालतले मुद्दा हेरिरहेको छ । पूर्वमन्त्री, पूर्वसांसद, बहालवाला मेयरलगायत विभिन्न ओहोदामा रहिसकेका दर्जनौँ व्यक्तिहरुलाई अदालतले थुनामा पठाएको छ । तर अदालतले पुर्पक्षका लागि थुनामा पठाएका कुनै एक व्यक्तिमाथि ‘राजनीतिक प्रतिशोध’ भएको भन्ने जबर्जस्त भाष्य बनाउन खोजिएको छ”, प्रश्नात्मक शैलीमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “एउटा व्यक्तिमाथि प्रतिशोध भएको हो भने थुनामा रहेका अन्य व्यक्तिमाथि के भएको हो ? त्यो चाहिँ कानुनी कारबाही हो ? अर्बाैं रुपैयाँ अपचलन गरेको आरोपमा थुनामा रहेका सयौँमध्ये कुनकुन व्यक्तिमाथि ‘प्रतिशोध’ भएको हो ? कुन कुन व्यक्तिमाथिको थुना जायज हो ?”

उहाँले यस्ता कुरालाई लिएर लगातार संसद् अवरुद्ध गरी विस्मयकारी, भावनात्मक र हानिकारक उत्तेजनाको एकालापमा मुलुकलाई लैजानु कदापि उचित नहुने बताउनुभयो । प्रधानमन्त्री ओलीले स्वतन्त्र न्यायालयले गर्ने निर्णय सरकार अनुकूल वा प्रतिकूल जेसुकै भए पनि त्यसमा सरकारको हात नहुने स्पष्ट गर्दै संसद्, सरकार, न्यायालयलगायत आफ्नो काम गर्नुपर्ने लोकतान्त्रिक प्रणालीका सबैजसो अङ्गहरुलाई पेशेवर ‘मास म्यानुपुलेसन’को आक्रमणबाट बचाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले अहिलेको सरकार विथोलिएको राजनीतिलाई लयमा फर्काउने, शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने, राजनीति र नीतिमा उत्पन्न अस्थिरतालाई अन्त्य गरी नीतिगत स्थिरता कायम गर्ने, थालेको काम सक्ने– प्रतिनिधिसभाको यस कार्यकालमा हुन नसक्ने कामलाई थाती राख्ने, र मुलुकलाई बोझ बनेका असान्दर्भिक योजना÷कार्यक्रमहरु खारेज गर्ने क्रममा रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीले आज संसद्मा उछालिएका कतिपय विषय राष्ट्रिय प्राथमिकता र आवश्यकतामा आधारित नभएको तथा देश र जनताको हितमा केन्द्रित रहेर काम गर्नुपर्ने यस सम्मानित सदनलाई झुठा कथा सिर्जना गरेर ‘कन्फ्युजन’ पैदा गर्ने र सोसल मिडियाका लागि कन्टेन्ट उत्पादन गर्ने थलो बनाउने दुष्प्रयास भइरहेको टिप्पणी गर्नुभयो । “कतिसम्म भने भिजिट भिसामा विदेश गएर उतैको नागरिकता लिएर, उताको नागरिकता नत्यागी नेपाल फर्केर मन्त्रीसम्म भएका प्रमाणित अभियुक्तहरु र भिजिट भिसामा गएर उतै दुईदुई पटक बिहे गरिसकेका व्यक्तिहरुले समेत अन्तरराष्ट्रिय विमानस्थलमा प्लेन चढ्ने सबै नागरिकलाई ‘बेचिएको’ भन्ने भाष्य स्थापित गर्न खोजिरहेका छन् । यसका पछाडि मुलुक र नागरिकको हित जोडिएको छैन, यसले इमोसनल ब्ल्याकमेलिङ मार्फत आफ्नो स्वार्थको रोटी सेक्ने प्रवृत्ति मात्र उजागर गरेको छ ।” उहाँको भनाइ थियो ।

अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ सालको निर्वाचनसम्म यही राजनीतिक समीकरण अगाडि बढ्ने पुनः स्पष्ट गर्दै उहाँले लोकतन्त्रको सम्वद्र्धनका लागि नभई त्यसको उपभोग गर्ने त्यसको हुर्मत लिने अभिष्ट भएकाहरुले प्रणालीमाथि प्रहार गर्न खोजे पनि आफूहरु प्रणालीको रक्षाका लागि दृढ भएको बताउनुभयो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी