११ साउन, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अध्यक्ष पदमै आँखा गाडेका कारणले पार्टी केन्द्रीय कमिटीले रोक लगाउने निर्णय गर्नुपरेको बताएका छन् ।
बालुवाटारमा कर्णालीबाट केन्द्रमा प्रतिनिधित्व गर्ने नेताहरूसँगको छलफलका क्रममा अध्यक्ष ओलीले पूर्वराष्ट्रपति भण्डारीले राजनीतिमा सक्रिय हुने निर्णय लिनेबारे आफूहरू कल्पना समेत नगरेको बताएका थिए ।
‘पार्टीको महत्त्वपूर्ण जिम्मेवारी देखि सिंगो देशकै अविभावकका रुपमा एमालेले स्थापित गरेकी महामहिम पूर्वराष्ट्रपतिज्यूले पछिल्लो समय जुन निर्णय लिनु भएको छ, त्यो हामीले कल्पना पनि गरेका थिएनौं’, ओलीले भनेका छन्, ‘लामो समय जारी राजनीतिक संघर्षको उपलब्धी संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिमाका रुपमा रहनु पर्ने व्यक्तिले एउटा सदस्यताका विषयमा गरेको बखेडाले स्वयम् उहाँकै कद घटाउने काम गरेको छ ।’
‘सिंगो एमाले पार्टी र हामी पार्टीका नेताहरु संघर्षपूर्ण इतिहासमा ठूला–ठूला आँधीबेहरी र तुफानको सामाना गरेर अहिलेको अवस्थासम्म आइपुगेका हौं’ बैठकमा ओलीले भने, ‘अहिले बाहिर देखिएको यो त सानो हावाको झोक्का हो । सामान्य रुपमा समाधान हुन्छ । तपाईहरु यसमा अल्मलिनु भन्दा आ–आफ्नो जिम्मेवारीमा रहेको भूगोल र क्षेत्रको पार्टी निर्माणमा एकताबद्ध भएर लाग्नुहोस् ।’