ऋणमा डुबेकी पार्वती करोडपति बनेपछि…

ऋणमा डुबेकी पार्वती करोडपति बनेपछि…

  • आइतवार, साउन ११, २०८२
  • मिर्मिरे अनलाइन

  • 38.2K
    SHARES

काठमाडौँ, ११ साउनः यही साउन २ गते शुक्रबारका दिन, घरधन्दा सकेपछि सधैँ झैँ मेलापात जाने तरखर गर्दागर्दै पानी दर्किएपछि धादिङ बाङ्गेपीपल बसेरीकी पार्वती कार्कीले मोबाइल घरमै छाड्नुभयो ।

मेलापात जाँदा पनि कसले पो फोन गर्ने हो र ? विदेशमा मजदुरी गरिरहेका श्रीमान् र काठमाडौँमा ‘प्लस टु’ पढ््दै गरेको छोरासँग साँझ बिहान नियमित फोन भइहाल्थ्यो । त्यसैले कार्कीले मोबाइल साथमा राख्न जरुरी ठान्नुभएन ।

जब उहाँ मेलापात सकेर घर फर्किनुभयो, मोबाइलमा नयाँ नम्बरबाट आएका ‘मिस्डकल’ देख्नुभयो । कार्की घर फर्केर काम गर्दैगर्दा फोनको घण्टी बज्यो । उहाँले फोन उठाउनुभयो । फोन काठमाडौँस्थित एनसेलको केन्द्रीय कार्यालयबाट आएको रहेछ । फोनमा बोल्ने व्यक्तिले उहाँको परिचय खोतल्ने प्रयास सुरु गरे । नाम, ठेगाना र परिवारबारे केही प्रश्न तेस्र्याए । उहाँले सबै जवाफ दिनुभयो ।

एनसेलका प्रतिनिधिले उहाँलाई सोमबार एनसेल मुख्यालयमा आउन भने । कार्कीलाई कारण के हो भन्ने बुझ्न मन लाग्यो र किन भनेर सोध्नुभयो । तपाईंलाई उपहार परेको छ, तर अहिले भन्न मिल्दैन, तपाईं काठमाडौँ आउनुस् भन्ने जवाफ पाउनुभयो । कार्कीले पछि मिलाएर आउँछु भन्नुभयो । त्यसपछि राम्रो पुरस्कार परेको र सोमबारकै दिन एनसेल कार्यालय काठमाडौँमा सम्पर्क गर्न भनियो ।

“पुरस्कारको फोन कलपछि मैले यो कुरा सासूससुरा, विदेशमा रहेका श्रीमान् र काठमाडौँमा पढ्ने छोरालाई सुनाएँ”, उहाँले भन्नुभयो, “सुरुमा पुरस्कार प¥यो भन्नेमा कसैलाई पत्यार लागेन । फोन गरेर कसैले झुक्यानमा पारेको पनि हुनसक्छ भन्ने कुरा भयो ।”

तर जब काठमाडौँमा रहेका देवरले भनेपछि राम्र्रो उपहार परेको हो की भन्ने भयो । देवरले एकपटक काठमाडौँ आउनुहुन्छ त ? भनेपछि मात्र उहाँलाई साँच्चिकै पुरस्कार हो की भन्ने भयो ।

उहाँ मेलापातको कामलाई थाँती राखेर परिचय खुल्ने कागजपत्र बोकेर आइतबारै काठमाडौँका लागि गाडी चढ्नुभयो । भोलिपल्ट बिहान उहाँ छोरा, देवरलगायतका साथमा लैनचौरस्थित एनसेल कार्यालय पुग्नुभयो ।

“एनसेल कार्यालय आउँदासम्म मलाई कुन र कति उपहार परेको हो भन्ने थाहै थिएन”, शुक्रबार एनसेलको बम्पर उपहार प्राप्त गरेपछि उहाँले भन्नुभयो, “अफिसमा सबै कागजपत्र जाँच भएपछि मलाई एक करोड रुपैयाँ परेको भनेर जानकारी दिनुभयो, सुरुमा त मलाई यो कसरी सम्भव भयो भनेर बुझ्नै सकिँन ।”

कार्कीलाई उपहारमा एक करोड रुपैयाँ दिने एनसेलसँगको सम्बन्ध उहाँको झण्डै आठ वर्षअघिको हो । “स्थानीय आरुघाटस्थित बजारमा सात÷आठ वर्षअघि किनेको ‘सीमकार्ड’ हो, बेलाबेलामा एनसेलको ‘९९ को प्याक’ लिने गर्नुहुन्थ्यो”, उहाँले भन्नुभयो, “आज त्यही प्याकले रु एक करोड जितायो, निकै खुसी लागेको छ, अबका दिनमा पैसाको दुःख हट्ने भयो भन्ने मनमा लागेको छ ।”

उहाँको जीवन कैयौँ दुःख र पीडाले गुज्रिएको छ । जीवन सहज बनाउन श्रीमान्सँगै मिलेर आफूले कडा सङ्घर्ष गरेका दिन उहाँको मनमा अझै ताजै छ । श्रीमान्ले विदेशमा र आफूले घरधन्दा गर्दै महिला स्वयंसेविकाका रुपमा गाउँमा काम गर्न थालेको झण्डै डेढ दशक बितिसकेको छ ।

यद्यपि भनेजस्तो अझै भएको छैन भन्ने लाग्छ कार्कीलाई । “कहिलेकाहीँ त जति गर्दा पनि कहिल्यै केही हुँदैन जस्तो लाग्थ्यो, मेहनतमा कमी थिएन, तर अपेक्षा गरेजस्तो पनि भएन र पनि कर्म गर्दै गएँ”, उहाँले भन्नुभयो । उहाँको जीवनमा ब्रजपात त तब प¥यो जब बारपाक केन्द्रिबिन्दु भएर भूकम्प गयो । विसं २०७२ वैशाख भूकम्पले धर्ती हल्लाउँदा निर्माण सकिएर सर्न ठिक्क परेको घर भत्कियो, त्यतिमात्र होइन, एक महिना दुई दिनको कान्छो छोरा पनि गुमाउनु प¥यो ।

धादिङबेंसीबाट सल्यानटार हुँदै गङ्गाजमुना गाउँपालिका–६ बाङ्गेपीपल बसेरीमा हाल उहाँको सानो घर छ । विदेशमा श्रीमान्ले कमाउनेबाहेकको आयस्रोत छैन । यद्यपि महिला स्वयंसेविकाका रुपमा थोरै भए पनि भत्ता आउँछ । त्यसबाहेक मकै, कोदो, धानखेती हुन्छ भने सिजनअनुसारको तरकारी पनि फलाउनुहुन्छ ।

गाउँकै विद्यालयमा कक्षा ९ मा फेल भएपछि उहाँले स्कुल जान छाड्नुभएको हो । त्यसको एक वर्षपछि २३ वर्षको उमेरमा विवाह भयो । त्यसको केही वर्षपछि छोरा जन्मियो । आर्थिक रुपमा कमजोर अवस्था भएकाले श्रीमान् धन कमाउन विदेश लाग्नुभएपछि घर सम्हालने जिम्मा उहाँको काँधमा आयो ।

खाडीको चर्को गर्मीमा श्रीमान्ले ज्यानको बाजी राखेर काम गर्दै खर्च घर पठाउनुहुन्थ्यो । त्यही रकमले घरखर्च चलाउनुहुन्थ्यो उहाँ । तर विदेशमा पनि भने जस्तो कहाँ हुन्छ र ? कुवेतमा रहँदा एक दिन श्रीमान् ‘बाथरुम’मा अचेत भई लडे । धन्न साथीहरुले थाहा पाएर अस्पताल लगी ज्यान बचाइदिए । केही वर्ष विदेशमा दुःख गर्दा पनि अपेक्षा गरेअनुसारको प्रगति नभएपछि उहाँले श्रीमान्लाई देशमै जागिर गर्र्न सुझाव दिनुभयो ।

“विदेशमा उहाँले गरेको दुःख थाहा छ, रोगले च्याप्दा पनि उहाँले काम गरिरहनुहुन्थ्यो, त्यसैले नेपाल आएपछि पठाउन मन लागेन, ऋणधन गरेर काठमाडौँमा पसल सुरु ग¥यौँ”, उहाँले विगत सम्झिँदै सुनाउनुभयो । तर भाग्यले त्यहाँ पनि ठग्यो । ऋण गरेर सुरु गरेको पसल केही महिनामै थप ऋणमा चुर्लुम्मै डुब्यो । लगानी निमेषभरमै खेर गयो ।

ठूलो लगानीमा खोलेको पसल नचलेपछि विदेश जानुको विकल्प रहेन । रु नौ लाखमा सुरु गरेको पसल बिक्री गर्दा ६० हजार पनि आएन । एकातिर चर्को ब्याजदरको ऋण र अर्कोतर्फ बिरामी शरीर बोकेर कार्कीका श्रीमान् झण्डै दुई वर्षअघि बहराइन पुग्नुभयो । तर त्यहाँ पनि भने जस्तो काम पाउनुभएन । ऋणको बोझले जागिरै छाडेर घर आउन दिएन, त्यसैले उहाँ अहिले पनि बहराइनमै हुनुहुन्छ । “दुई वर्षपछि आउने भन्नुहुन्थ्यो, अब भदौमा दुई वर्ष पुग्छ, त्यसपछि बिदा पाइन्छ भन्नुभएको छ”, उहाँले भन्नुभयो ।

बहराइनमा श्रीमान्को शरीरमा नयाँ रोग थपियो, ‘एलर्जी’ । कहिले शरीर सुन्निने त कहिले ‘एलर्जी’ले गाह्रो बनाइरहन्छ । तैपनि काम गर्दै महिनामा रु १५÷२० हजार पठाइरहनुहुन्छ । यसले जेनतेन ऋणको ब्याज तीर्न मात्रै पुगेको उहाँले बताउनुभयो ।

एनसेलबाट प्राप्त एक करोड रुपैयाँमध्ये २५ लाख सरकारलाई कर बुझाएपछि बाँकी रकम अहिले उहाँको खातामा आइसकेको छ । यो रकम उहाँका लागि धेरै ठूलो हो । यो रकमले जीवन सहज बनाउँछ भन्ने उहाँको विश्वास छ ।

प्राप्त रकमले पहिलो काम ऋणको भारी बिसाउने योजना छ । लामो समयदेखि बोझ बनेको ऋण अब बोक्नु नपर्ने भयो भन्ने सोच्दा उहाँ खुसी हुनुहुन्छ । “यो ऋण कहिले सकिएला र सुख पाइएला भन्ने हुन्थ्यो, अब उपहारमा पाएको यो पैसाले सबैभन्दा पहिले ऋण तिर्छु, अब ऋण तिर्नका लागि रोगी शरीर घोटिनु परेन”, उहाँले भन्नुभयो ।

ऋण चुक्ता गरेपछि बचेको पैसाले नेपालमै श्रीमान्–श्रीमती मिलेर केही उद्यम गर्ने सोच छ, कार्कीको । “यो पैसालाई राम्रो ठाउँमा सदुपयोग गर्न सकियो भने भोलिका दिन सहज हुन्छ भन्ने थाहा छ, त्यसैले अब श्रीमान्लाई नेपालमै राखेर दुवै जना काम गर्छौं”, उहाँ भन्नुहन्छ । साथमा छोराले ‘प्लस टु’ पढिरहेको छ । उसको पढाइमा पनि ठूलो खर्च हुन्छ । बाँकी पैसा छोरालाई पढाउनमा खर्च गर्ने कार्कीको योजना छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी