साउन १० काठमाण्डौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका नेता कार्यकर्तामाथि एमाले भित्र कार्बाही शुरु भएको छ । बिद्या भण्डारीको पक्षमा स्टाटस लेखेका आधारमा युवा संघ लुम्विनीका अध्यक्ष सृुरज खरेल निलम्वित भएका छन् ।
संघले खरेललाई एक वर्षका लागि निलम्बन गरेको हो । साउन ९ गते बसेको पदाधिकारी बैठकले खरेललाई निलम्बन गर्ने निर्णय गरेको जनाएको छ ।
रुपन्देहीको देवदहका खरेललाई राष्ट्रिय युवा संघ नेपालको विधान बमोजिम संगठनका सम्पूर्ण जिम्मेवारीहरूवाट पदमुक्त गर्दै, एक वर्षका लागि संगठनबाट निलम्बन गर्ने निर्णय गरिएको महासचिव रमेश चौलागाईले जारी गरेको पत्रमा उल्लेख छ ।
संघको पोखरामा सम्पन्न १०औं राष्ट्रिय महाधिवेशनका सन्दर्भमा स्पष्टीकरण सोधिएकोमा खरेलले गैरजिम्मेवार र अराजक जवाफ पठाएको, केन्द्रको निर्देशन अवज्ञा गर्दै प्रदेश कमिटीको सचिवालय बैठक राखेको र स्वेच्छाचारी तथा मनोमानी गतिविधि गरेको आरोप लगाइएको छ ।
उनले महाधिवेशनमा अध्यक्षमा सुमन पुरीलाई समर्थन गरेको तर, कसैलाई अभद्र व्यवहार नगरेको, सामाजिक संजालमा नेतृत्व परिवर्तनको कुरा उठाउनु अपराध नभएको जवाफ फर्काएका थिए । ‘पार्टीलाई एकताबद्ध र बलियो बनाउन नेतृत्वको विकल्प खोज्नु कुनै अपराध होइन,म अधिवेशनबाट निर्वाचित भएको हुँ,मलाई हटाउन अर्को अधिवेशनले मात्रै सक्छ,’ खरेलले भने, ‘निलम्बनको निर्णय अन्यायपूर्ण र पुर्वाग्रहणप्रेरित छ,म संघमै क्रियाशील रहेर गतिविधि अघि बढाउँछु, आवश्यक परे समानान्तर कमिटी बन्न सक्छ ।’
सुरज देवदह नगरपालिकाका मेयर ध्रुव खरेलका छोरा हुन् । खरेलले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले मार्गप्रशस्त गर्नुपर्ने तर्क गर्दै सम्मानसहित पार्टी नेतृत्व परिवर्तनको कुरा सामाजिक सञ्जालमार्फत् उठाउनुलाई लोकतान्त्रिक अभ्यास भनेका छन् ।