काठमाडौँ साउन ९ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अहिले पनि एमालेमै रहेको र ४५ वर्ष अघि मदन भण्डारीले दिएको सदस्यता कसैले खोस्न नसक्ने दाबी गरेकी छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै पूर्वराष्ट्रपति भण्डारीले आफू एमाले सदस्य नै रहेको बताएकी हुन् ।
मैले एमालेमा सदस्यता नवीकरण गरिसकेको छु । म अहिले पनि एमालेमै आबद्ध छु, उनले भनिन् ।
पछिल्लो समय सदस्यता नवीकरण गरेर पार्टीमा पुनः जोडिएको प्रसंग सुनाउँदै पार्टीमा आफ्नो ठूलो योगदान रहेको भण्डारीले बताइन् । ‘मैले पार्टी सदस्यता लिएको ४५ वर्ष भयो । कसैलाई लाग्दैमा मेरो सदस्यता खान सक्दैन, उनले भनिन्, ‘मैले सफलता पूर्वराष्ट्रपतिको कार्यकाल पूरा गरिसकेपछि बाँकी जीवन देशका लागि लगाउने उद्देश्यले मातृ पार्टी नेकपा एमालेको सदस्यता नवीकरण गरेकी हुँ, मैले विधिपूर्वक नवीकरण गरेको हुँ । केही व्यक्तिको हुलहुज्जत र उत्तेजनाको भरमा निर्णय हुँदैन । पार्टीको पनि आफ्नो विधि प्रक्रियाहरू हुन्छन् । एउटा प्रणालीमा चल्छ ।’
तत्कालीन समय कोशी सगरमाथा इन्चार्ज रहेका मदन भण्डारीसँग आफूले पार्टी सदस्यताको शपथ लिएको पनि उनले सुनाइन् ।’जननेता मदन भण्डारीले समृद्ध नेपाल सुखी नेपाली कसरी बनाउन सकिन्छ भनेर जनताको बहुदलीय जनवाद कार्यक्रम ल्याउनुभाको थ्यो । हामीले त्यसको आदर्श मर्मअनुसार कार्यक्रम गर्ने हो, उनले भनिन् ।
भण्डारीले एमालेमा आफ्नो पार्टी सदस्यता नवीकरण त्यसै विवादमा ल्याइएकोसमेत बताएकी छिन् । पार्टी सदस्यता नवीकरण भइसकेकाले यसलाई विवादमा पार्नुपर्ने कुनै कारण नै छैन, उनले भनिन् ।कसैलाई कति खेर के मन लाग्यो, त्यसै अनुसार निर्णय गर्नु राम्रो नभएको भन्दै उनले आफै एमालेको पार्टी जीवनमा पुनः आइसकेको दाबी गरिन् । पार्टीको निर्णयबाटै आफू राष्ट्रपति भएको भन्दै फर्केपछि विधिअनुसारै सदस्यता नवीकरण गरेको उनले प्रस्ट्याइन् ।
गत मंगलबार एमाले केन्द्रीय समितिले उनको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो । पार्टीको उक्त निर्णयबारे प्रतिक्रिया दिन भण्डारीले पत्रकार सम्मेलन गरेकी हुन् । ‘जब म पार्टीमा आबद्ध बनेर अगाडि बढ्ने टुङ्गोमा पुगेँ, तब मैले पार्टीको सदस्यता विधिपूर्वक नवीकरण गरेँ,’ उनले भनिन्, ‘पार्टी सदस्य भएको ४५ वर्ष भयो । मलाई मदन भण्डारीले पार्टी सदस्यको शपथ खुवाउनु भएको थियो । कसैलाई लाग्यो भन्दैमा, मेरो सदस्यता कसैले खानसक्छ जस्तो लाग्दैन ।’
पत्रकार सम्मेलनमा भण्डारीले भनिन्. ‘मेरो पार्टी सदस्यता नवीकरण भइसकेकाले यो विवादमा पार्नुपर्ने विषय होइन ।’ बैठकको अघिल्लो दिन ओलीसँग भेटेर आफूले विधिसम्मत ढंगले सदस्यता नवीकरण गरेको र यसकै आधारमा पार्टीमा आबद्ध भएर कार्य गर्न चाहेको जानकारी गराएको उनले उल्लेख गरिन् । ‘पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र मेरो बीचमा सौहार्दपूर्ण वातावरणमा छलफल भएको थियो,’ उनले भनिन्, ‘त्यसको भोलिपल्ट पार्टी केन्द्रीय कमिटीले मेरो सदस्यता नवीकरण नगरेको कुरा विज्ञप्तिबाट थाह पाएँ ।’
संविधान, ऐन, कानुन र पार्टीको मूल्यमान्यता समेतलाई नजरअन्दाज गरेर गरिएको अपरिपक्व निर्णयले आफूलाई दुःखित बनाएको उनले भनेकी छन् । आवेग र उत्तेजनाका भरमा त्यस्तो निर्णय गरिएको उनले उल्लेख गरिन् । उनले निर्णय प्रक्रियाप्रति प्रश्न उठाएकी छन् । आफूलाई पार्टी सदस्य हुनबाट बञ्चित गर्न नमिल्ने बताइन् । ‘आवेग र उत्तेजनाका भरमा गरिएका यस्ता निर्णयले सत्यलाई अस्थायी रूपमा भ्रमित तुल्याउन सकिए तापनि वास्तविकतालाई सधैं छोप्न सकिँदैन,’ उनले भनिन्, ‘पार्टी निर्माणसम्बन्धी जनवादी केन्द्रीयताको वैज्ञानिक सिद्धान्त प्रतिकूल हुनेगरी गरिएको निर्णय वैध र परिपक्व हुनै सक्दैन ।’
पार्टीका पूर्वउपाध्यक्षका हैसियतमा पत्रकार सम्मेलन गरेकी उनले आफू एमालेमै रहेको र आफ्नो सदस्यता कायम रहेको दाबी गरे पनि आगामी यात्रा वा रणनीतिबारे केही खुलाइनन् ।
उनले राजनीति गर्न पाउने आफ्नो संवैधानिक अधिकार रहेको भनेकी छन् । ‘राष्ट्रपतिको जिम्मेवारी पूरा गरेर राजनीतिक दलमा आबद्ध बनी देश र जनताको सेवा गर्ने संकल्प गर्नु कुनै अनौठो र आश्चर्य मान्नुपर्ने विषय होइन,’ उनले भनिन्, ‘नेपालको संविधानले आस्थाको अधिकार र राजनीतिक दलमा आबद्ध हुने अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूति गरेको छ । कहींकतैबाट पनि म दलमा आबद्ध भएर राजनीतिमा संलग्न हुन नसक्ने अवस्था छैन ।’ संवैधानिक सर्वोच्चता र विधिको शासन प्रतिकूल हुने गरी पार्टी सदस्यबाट आफूलाई बञ्चित गर्नुपर्ने कुनै कारण नरहेको उनले दाबी गरेकी छन् ।
उनले जबजले अगाडि सारेको पार्टी निर्माणसम्बन्धी अवधारणाको निष्ठापूर्वक रक्षा गर्न देशभरका कार्यकर्तालाई आह्वान गरेकी छन् । ‘मेरो यो आग्रह र संकल्प अन्तर्आत्माको आवाज हो, आफ्नो निर्णयबाट म विचलित हुने छैन,’ उनले भनिन्, ‘म सम्पूर्ण पार्टी पंक्तिलाई निर्धक्क, ढुक्क र दृढ भएर पार्टीका मूल्यहरूलाई आत्मसात गर्दै पार्टी निर्माणमा सक्रिय हुन हार्दिक आह्वान गर्दछु ।’