प्रधानमन्त्री ओलीले रविबाट थालेको प्रतिशोधको शृंखला आरजुमा गएर टुंगिन्छ: वर्षमान पुन

प्रधानमन्त्री ओलीले रविबाट थालेको प्रतिशोधको शृंखला आरजुमा गएर टुंगिन्छ: वर्षमान पुन

  • शनिबार, साउन ३, २०८२
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

श्रावण ३, काठमाडौँ । माओवादी उपमहासचिव वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबाट थालेको प्रतिशोधको शृंखला कांग्रेस नेतृ एवं वर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवासम्म पुगेर टुंगिने दाबी गरेका छन् ।

पार्टीसम्बद्ध गोरखा–काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार राजधानीमा आयोजना गरेको पार्टी स्कुल कार्यक्रममा बोल्दै पुनले प्रधानमन्त्री ओलीले अन्य राजनीतिक दलका नेताप्रति प्रतिशोध लिने क्रम नरोकिएको बताए ।

सहकारी ठगीमा लामिछानेलाई थुनेर रास्वपा विभाजन गर्ने नियतका साथ ओलीले कदम चालेको पुनले आरोप लागाए । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि मुद्दा लगाएर सो पार्टी एमालेमा गाभ्ने ओलीको नियत सबैले बुझेको उनको भनाइ थियो । उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन गराएर एउटा समूहलाई आफूतिर मिलाउने तयारीमा ओली रहेको दाबी पुनले गरे ।

विरोधीलाई ठेगान लगाउने नाममा अरु दलका मुल नेतृत्वमाथि मुद्दामामिला लगाउने, पार्टी विघटन गरिदिने वा आफूमा गाभ्ने नीति ओलीले लिएको उनले आरोप लगाए । ‘रवि लामिछानेलाई भित्र राखेर पार्टी फुटाइदिने, एक्स्ट्रिम राजावादी दुर्गा प्रसाईं र रवीन्द्र मिश्रलाई जेल हाल्दिने, राजेन्द्र लिङदेनलाई अहिले आन्दोलन नगर भनेर रोक्न लगाउने । माधव नेपाललाई मुद्दा लगाएर एकीकृत समाजवादी आफूमा गाभ्ने, उपेन्द्र यादवजीको पार्टी फुटाएर एउटा समूह आफूमा मिलाउने,’ पुनले भने, ‘हेर्दै जानुस्, कांग्रेस गठबन्धनबाट अलिकति चलमलाउन थाल्यो भने उहाँले केही न केही नाममा आरजु राणालाई मुद्दा लगाउने तयारी गर्नुभएको छ । अब आरजुका आमाछोराको पालो हो भनेर कांग्रेस नेतृत्वलाई तर्साइरहनुभएको छ ।’
भिजिट भिसा प्रकरणमा रमेश लेखक र टेरामक्स खरिद प्रकरणमा मोहनबहादुर बस्नेतलाई तानेर ओलीले कांग्रेस सभापति शेरबहादुर देउवामाथि दबाब बढाएको पुनले दाबी गरे ।

माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई सीआईबी, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत फसाउन सकिन्छ कि भनेर ओलीले एक वर्षअघि नै प्रयास गरेको पुनले बताए । ‘ती सबैबाट केही पनि भेटिएन, सकिँदैन भनेपछि धेरै पहिला कुनै बेला उहाँका पीए बसेका विकेश श्रेष्ठमार्फत तान्न सकिन्छ कि भनेर शेरा दरबारतिर लाग्नुभयो, यो कुरा पुष्टि नै भइसकेको छ,’ पुनले भने ।

दाहालले शेरा दरबारबाट सुरु गरेर यती, ओम्नी, वाइडबडी, बालुवाटार र गिरिबन्धुसहित सबै प्रकरणको छानबिन गर्नुपर्ने बताएपछि ओली चुप लागेको उनको भनाइ थियो ।

ओलीको एकाधिकारवादी निरंकुश र स्वेच्छाचारी प्रवृत्तिबारे आफूहरुलाई थाहा भएरै उनीविरुद्ध लडिरहेको पुनले उल्लेख गरे । ‘सबै एमाले होइन, ओलीको झण्डामुनि रहेको दक्षिणपन्थी र एकाधिकारवादी सानो गिरोहविरुद्ध हामी लडिरहेका छौं । केही गल्ती नगरेका कारण हामी डराएका छैनौं । अरु पार्टीमा जसरी माओवादीमा ओलीजीले भाँडभौलो मच्चाउने, तोडफोड गर्न सक्नुहुन्न,’ उनले भने ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ