असार २४ काठमाण्डौँ । नेपालमा आएर गैरकानुनी रुपमा डेढ अर्ब भन्दा बढी क्रिप्टो करेन्सीको कारोबार गर्ने दुई भारतीय नागरिक पक्राउ परेका छन् ।
सीआईबीले १ अर्ब ५० करोड भन्दा बढी गैरकानुनी क्रिप्टो कारोबार गर्ने दुई भारतीय नागरिकलाई ललितपुरको सानेपाबाट पक्राउ गरेको हो ।
ललितपुर महानगरपालिका–२ सानेपास्थित कालोपुलमा केही व्यक्तिहरुले अवैध हुन्डी कारोबार गरेको सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।
पक्राउ पर्नेमा भारतको विहारस्थित मोतिहारीका ४३ वर्षीय रुपेश कुमार गुप्ता र विहारकै पूर्वी चम्पारण बिजबानीका २२ वर्षीय बिपिन कुमार रहेका छन् । सीआईबीका अनुसार उनीहरुले सानेपामा राजतिर्थ ट्रेडर्स नामको किराना पसलको आवरणमा गैरकानुनी हुण्डी तथा अभौतिक मुद्रा ९क्रिप्टो करेन्सी० कारोबार गरिरहेको पाइएको छ ।
सोमबार पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले ८ लाख २० हजार नेपाली रुपैयाँ र भारु १० हजार र एकथान सीसीटीभी डिभिआर समेत बरामद गरेको छ ।

यसै गरी आजै स्रोत नखुलेको झन्डै डेढ करोड रूपैयाँसहित काठमाडौंबाट एक जना चिनियाँ नागरिक पक्राउ परेका छन्।
सोमबार काठमाडौं महानगरपालिका-६ बौद्ध नयाँ वस्तीस्थित एउटा घरबाट स्रोत नखुलेको १ करोड ४४ लाख रूपैयाँसहित चिनियाँ नागरिकलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार पक्राउ पर्ने व्यक्ति अन्दाजी ४० वर्षका वाङ जियान नाम गरेका पुरूष छन्।
नयाँ बस्तीमा डेरा गरी बस्ने कोठामै अवैध रकम कारोबार भएको सूचनाका आधारमा प्रहरी वृत्तबाट प्रहरीको टोली खटिएको थियो।