असार २३ काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्पेनको भ्रमणबाट नेपालको अन्तराष्ट्रिय छवि बढेको दाबी गरेका छन् ।
आज सदनलाई आफ्नो भ्रमणको जानकारी दिने क्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् ।
‘झण्डै ५० देशका सरकार तथा राष्ट्र प्रमुख तथा संयुक्त राष्ट्रसंघका प्रमुख लगायतको सहभागीता रहेको सम्मेलनमा प्रधानमन्त्रीको नेतृत्वमा नेपालको सक्रिय उपस्थितिले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको छवि अविवृद्धि भएको छ,’ ओलीले भने।
सम्मेलनमा नेपालको हित र आवाज मुखरित गरेको समेत प्रधानमन्त्रीको भनाइ छ। ओलीले भने, ‘वास्तवमा यस पटकको भ्रमणले नेपालको हित, नेपालको पहिचान र नेपालको आवाज। त्यो मात्रै होइन, हामीले आफू जस्ता भूपरिवेष्ठित, अल्पविकसित राष्ट्रहरुको समेत आवाजलाई त्यहाँ मुखरित गर्ने काम गरेका छौँ।’
त्यस्तै नेपाल अन्तर्राष्ट्रिय समुदायमा एक जिम्मेवार र सक्षम मुलुक सावित भएको समेत उनको भनाइ छ। ‘विकास वित्तसम्बन्धी अपेक्षा, औपचारिक र अनौपचारिक विकास सहयोगका साथै जलवायु वित्तमा पनि सहयोगका लागि आव्हान गरिएको छ,’ प्रधानमन्त्री ओलीले भने, ‘विकास साझेदारीका प्राथमिकताहरु मुखरितका प्रयास गरिएको छ। नेपाल अन्तर्राष्ट्रिय समुदायमा एक जिम्मेवार र सक्षम मुलुक सावित भएको छ। आर्थिक कूटनीतिलाई अगाडि बढाउने र वैदेशिक लगानीवृद्धि हुने अपेक्षा गरिएको छ।’
सम्मेलनका अवसरमा अति कम विकसित राष्ट्रहरुको समूहको बैठकलाई अध्यक्षतासहित सम्बोधन, विभिन्न साइलाइड वार्ता र गोलमेच सम्मेलनमा आफ्नो नेतृत्व, वकालत प्रतिबद्धताबारे सदनलाई प्रधानमन्त्री ओलीले जानकारी गराए।
नेपालले ४४ वटा अतिकम विकसित मुलुकहरु रहेकामा नेपालले उक्त सम्मेलनका अवसरमा नेपालले ती मुलुकहरु सामु प्रभावकारी नेतृत्व गर्न सक्ने झल्को दिएको दाबी गरे।
सम्मेलनका अवसरमा प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री पोद्रो साञ्चेजबीच दुईपक्षीय भेटवार्ता भएको थियो।