असार २३ काठमाण्डौँ । निजामती विधेयकको कुलिङ पिरियडसम्बन्धी विषयमा भएको छलछामको छानबिन तथा अध्ययन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन भएको छ।
आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा ५ दलका प्रमुख सचेतकले समितिमा रहने सदस्यको नामावली सभामुखलाई दिएका हुन्। नेपाली कांग्रेसले जीवन परियार र शुशिला थिङलाई समितिमा पठाएको छ।
त्यस्तै माओवादी केन्द्रले सांसद माधव सापकोटालाई समितिमा पठाएको छ। त्यसैगरि रास्वपाबाट सोविता गौतम, राप्रपाबाट रोशन कार्की समितिमा पठाएको हो। एमालेको भने नाम प्राप्त हुन बाँकी छ।
शनिबार सभामुख देवराज घिमिरेले मुख्य दलका प्रमुख सचेतकहरूसँग गरेको बैठकमा विशेष समिति गठन गर्ने सहमति भएको थियो।
समितिलाई छानबिन तथा अध्ययनका लागि १५ दिनको समय दिइएको छ।
निजामती विधेयकमा रहेको सेवा निवृत्त उच्च पदस्त कर्मचारीले २ वर्षपछि मात्रै सरकारी नियुक्ति लिन पाउने व्यवस्था रहेको प्रतिवेदन राज्यव्यवस्था तथा सुशासन समितिले पारित गरेको भए पनि प्रतिनिधिसभाको पूर्णसभाबाट पारित भएर आउँदा अर्कै विषय रहेको पाइएपछि विवाद चुलिएको छ ।
दलहरुले राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडा सहितको राजीनामा सम्म मागेका थिए ।