असार २२ काठमाण्डौँ । नेकपा एमालेका सचिव एवं विदेश विभाग प्रमुख रघुवीर महासेठले पार्टी अध्यक्ष केपी ओलीकै सहमतिमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने दाबी गरेका छन् ।
आइतबार जनकपुरमा भएको पत्रकार सम्मेलनमा महासेठले अध्यक्ष ओली र भण्डारीबिच कुनै अन्तरविरोध नभएको पनि जिकिर गरे ।
‘यदि उहाँ सक्रिय राजनीतिमा आउनुहुन्छ भने अध्यक्षको सहमति र प्रस्तावमा उहाँ आउनुहुन्छ । हाम्रो संविधानले पूर्व राष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन कुनै बन्देज लगाएको छैन । न त हाम्रो पार्टीको विधानले बन्देज गरेको छ । सचिवालय बैठकमा पनि यसबारे छलफल भएकै हो ।
भण्डारीले अहिलेसम्म सक्रिय राजनीतिमा आउन सदस्यता नवीकरण गरेर सक्रिय राजनीतिमा फर्किने घोषणा मात्र गरेकाले कसरी अगाडि जाने विषयमा कुनै जानकारी नगराएको महासेठले बताए । अहिले अध्यक्ष ओली र भण्डारीबिच बाहिर जुन खालको अन्तर्विरोध भएको हल्ला चलिरहेको छ, त्यो निराधार रहेको उनले जिकिर गरे ।
‘अहिले बाहिर जुन प्रकारको बजार हल्ला छ । प्रधानमन्त्री केपी ओली र पूर्व राष्ट्रपति विद्या भण्डारीबिच अन्तर्विरोध बढिरहेको छ । कार्यकर्ताहरू कित्ताकाट गरिरहेको छ । मिडियामा दिनहुँ कित्ताकाटको समाचार आइरहेका छन् । यसको कुनै सत्यता छैन । कुनै अन्तर्विरोध छैन’, उनले भने ।
साथै महासेठले आफू कुनै कित्तामा नलागेको पनि दाबी गरेका छन् ।