असार २१ काठमाण्डौँ । एएफसी वुम्नस एसिया कप २०२६ अन्तर्गत समूह ‘एफ’ को छनोटमा नेपालले आज उज्वेकिस्तानसँग निर्णायक खेल खेल्दैछ।
उज्वेकिस्तानको तास्केन्तमा शनिबार राति ९ः १५ बजे नेपाल र उज्वेकिस्तानबीचको खेल शुरु हुनेछ । यो खेल जिते नेपाल एएफसी वुमन्स कपमा पुग्नेछ।
साबित्रा भण्डारी साम्बाको कप्तानीमा भएको नेपाली टोलीले अघिल्लो दुई खेलमा लाओसलाई ९ र श्रीलंकाविरूद्ध ८ गोल गर्यो।
समूहमा आयोजक उज्वेकिस्तानले पनि दुवै खेलमा जित निकालेको छ। उसले पहिलो खेलमा श्रीलंकालाई १०–० गोलले हराउँदा बुधबार लाओसलाई ७–० गोलले हरायो।
यस्तोमा समूहमा नेपाल र उज्वेकिस्तान दुवैले ६–६ अंक जोडेका छन्। दुवैले १७–१७ गोल गरेका छन् भने कुनै गोल खाएका छैनन्।
समूहबाट एक टोलीमात्र एसियन कपमा पुग्ने भएकाले आगामी शनिबार नेपाल र घरेलु टोली उज्वेकिस्तानबीच हुने खेल निर्णायक हुनेछ। सो खेल राति सवा नौ बजे हुनेछ।
दुवै टोलीको जित र गोलअन्तरको स्थिति समान छ। त्यसैले शनिबारको खेल बराबरीमा सकिएमा खेल पेनाल्टीमा पुग्ने एएफसीको नियम छ। किनभने हेड टु हेड, गोल अन्तर र धेरै गोल गरेको अवस्था सबैमा नेपाल र उज्वेकिस्तान बराबरीमा छन्।
फिफा वरीयताको आधारमा हेर्ने हो भने उज्वेकिस्तान नेपालभन्दा बलियो टोली हो। उज्वेकिस्तानको महिला टोली फिफा वरीयतामा ५१ औं स्थानमा छ। नेपाल भने १००औं स्थानमा छ। हेड टु हेडमा पनि उज्वेकिस्तान अघि छ। उसले नेपालसँग खेलेका तीनै खेलमा जित निकालेको थियो।
सन् २०१९ मा कीर्गिस्तानमा भएको नादेज्दा कपमा नेपाल र उज्वेकिस्तानबीच पछिल्लो पटक प्रतिस्पर्धा भएको थियो। सो कपमा नेपाल र उज्वेकिस्तान दुई पटक भिडेका थिए। समूह चरण नेपालले २(० को हार बेहोर्दा फाइनलमा पनि ३(२ गोलले पराजित भएको थियो।
यसपटक घरेलु मैदानको फाइदा हुने उज्वेकिस्तान एसियन कप खेलिसकेको टोली हो। उसले ५ पटक एसियन कप खेलिसकेको छ।