काठमाडौँ असार १८। नेकपा (एकीकृत समाजवादी) ले नेत्री रामकुमारी झाँक्रीलाई कार्बाही गर्ने भएको छ ।
कार्वाहीको तयारीका लागि उनलाई तीन दिने स्पष्टीकरण सोधिएको छ ।
पूर्वप्रधानमन्त्री तथा पार्टी अध्यक्ष माधव कुमार नेपाललाई लक्षित गरेर अभिव्यक्ति दिएपछि उनलाई पार्टीको अनुशासन आयोगले स्पष्टीकरण सोधेको हो ।
झाँक्रीलाई आयोगले स्पष्टीकरण सोधिसकेको र प्राप्त हुने जवाफका आधारमा पार्टीमा छलफल भएर आवश्यक निर्णय हुने सचिव सोमप्रसाद पाण्डेले बताए ।
उनका अनुसार झाँक्रीको अभिव्यक्तिबारे बिहीबार बस्ने सचिवालय बैठकमा छलफल हुनेछ ।
अध्यक्ष नेपालमाथि लागेको भ्रष्टाचार मुद्दाको विषयलाई लिएर पूर्वमन्त्री समेत रहेकी नेतृ झाँक्रीले अर्ली महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्न सकिने तर काँधमा मरेको सिनो बोकेर हिँड्न नसकिने भनेर दिएको अभिव्यक्ति दिएकी थिइन् ।
झाँक्रीले प्रयोग गरेको ‘सिनो’ शब्द चयनको विषयलाई लिएर धेरै नेताहरूले आपत्ति जनाइरहेका छन् । नेताहरूले झाँक्रीको उक्त अभिव्यक्ति कुनै हालतमा जायज हुन नसक्ने र उनलाई कारबाही हुनुपर्ने मत राख्दै आएका छन् ।
चित्तबुझ्दो जवाफ नदिए झाँक्रीमाथि कार्बाहीको निर्णय बिहिबार हुनेछ ।