असार १८ काठमाण्डौँ । एएफसी एसियन कप छनोट अन्तर्गत समूह चरणको दोस्रो खेलमा आज नेपाली राष्ट्रिय महिला फुटबल टोलीले श्रीलंका विरुद्ध खेल्दैछ। उज्वेकिस्तानमा हुने खेल आज साँझ सवा ६ बजे सुरु हुनेछ।
पहिलो खेलमा लाओसमाथि ९–० को फराकिलो जित निकालेको नेपाल लगातार दोस्रो जित फराकिलो गोल अन्तरका आधारमा निकाल्ने रणनीतिमा रहेको छ ।
नेपाल र श्रीलंकाबीच अहिलेसम्म ८ खेलमा भेट भएको छ। ती सबै भेटमा नेपालले जित हात पारेको छ।
नेपाल समूह एफ को विजेता बने सन् २०२६ को मार्चमा अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा खेल्ने अवसर पाउनेछ।
यसपटकको छनोटमा एसियाका ३४ टोली सहभागी छन्। जसलाई ८ समूहमा विभाजन गरिएको छ।
अहिलेसम्म आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापानले च्याम्पियनसिपका लागि स्थान सुरक्षित गरिसकेका छन्। कुल १२ टोली एसियन कपको मुख्य प्रतियोगितामा सहभागी हुनेछन्।