असार १७ काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा विधेयक पारित गर्ने क्रममा गम्भीर षड्यन्त्र भएको बताएका छन्।
योङ कम्युनिष्ट लिग, नेपाल (वाईसीएल) को केन्द्रीय पदाधिकारी बैठकलाई मंगलबार पेरिसडाँडामा सम्बोधन गर्दै उनले विधेयकमा चलखेल र छेडखानी गर्ने प्रवृत्तिलाई छुट दिन नसकिने भन्दै छानबिन गरेर कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने बताए ।
‘परिवर्तनका उपलब्धिहरू उल्ट्याउने षड्यन्त्र हुँदै आएको छ,’ प्रचण्डले भने, ‘आज तपाईंहरूले संघीय निजामती विधेयकमा पनि हेर्नुभएको छ, त्यसमा षड्यन्त्र भएको छ। यो विधेयकमा कसले बदमासी गर्यो, त्यसको छानबिन गरी चलखेल तथा छेडखानी गर्ने प्रवृत्तिमाथि कारबाही गराउनेतर्फ हामी लागेका छौँ।’
उनले संविधान र जनताको रगत–पसिनाबाट प्राप्त उपलब्धिहरूलाई उल्ट्याउने प्रवृत्ति यसअघि पनि देखिएको र अहिले पुनः त्यसको पुनरावृत्ति हुने खतरा औंल्याए।