असार १७ काठमाण्डौँ । कुलिङ पिरियड विवादमा राज्य व्यवस्था समितिका सभापति सांसद रामहरी खतिवडाको राजीनामा मागिएको छ ।
एमाले, माओवादी र रास्वपा सांसदहरुले राजीनामा माग गरेका हुन् ।
एमाले सचेतक पदम गिरीले संघीय निजामती सेवा विधेयकमा कुलिङ पिरियड सम्बन्धी व्यवस्थामा गरिएको हेरफेरलाई गम्भिर षडयन्त्र भनेर टिप्पणी गरेका छन् । यस्तो कार्यमा संलग्नले नैतिकताको आधारमा ठाउँ छोड्नुपर्छ र कारबाही भोग्नुपर्ने पनि उनले बताए ।
आज सिंहदरबारमा पत्रकारहरुसँग छलफल गर्दै पूर्व कानुनमन्त्री समेत रहेका गिरीले सो कुरा बताएका हुन् । उनले संसदीय समितिको प्रतिवेदन प्रतिनिधि सभाबाट पास हुँदाको भन्दा फरक कुरा आएको भन्दै गिरीले यसलाई गम्भीर षडयन्त्रको संज्ञा दिए ।
नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले संघीय निजामती सेवा विधेयकमा रहेको कुलिङ पिरियडको व्यवस्थाबारे भएको चलखेललाई गम्भीर अपराधको संज्ञा दिंदै छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् ।
मंगलबार संसद भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै शर्माले राज्य व्यवस्था समितिले पारित गरेकोभन्दा फरक शब्दहरू ऐनमा राखिएको भन्दै यसमा नियतवश हेरफेर गरिएको दाबी गरे। ‘यसमा समितिले पास गरेकोभन्दा बाहिर गएर गरिएको भन्नेमा सबै सदस्यहरूको एउटै धारणा छ,’ उनले भने, ‘सभापतिले पनि मलाई थाहा नभएको कुरा हो भन्नुभएको छ। सचिवले स्वाभाविक रूपमा लेखेको भन्नुभएको छ तर यस्ता कुराहरू स्वाभाविक हुँदैनन्।’
यसै गरी माओवादी सांसद माधव सापकोटाले यो नियतबस गरिएको गल्ती भएकाले सभापति र समितिका सचिवले नैतिकताका आधारमा राजीनामा दिनु पर्ने बताए ।
त्यसै. गरी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले कुलिङ पिरियडमा भएको गलत कार्यको जिम्मेवारी लिन राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडालाई आग्रह गरेको छ ।
रास्वपाका प्रवक्ता मनिष झाले सामाजिक सञ्जालमार्फत सभापति खतिवडाको राजीनामा नै मागेका छन् ।
राज्य व्यवस्था समितिका सभापति ज्यू, निजामती बिधेयकमा, तपाईले संघीय सदनको रोस्टमबाट टेब्ल गरेको भन्दा फरक कुरा कसरी आयो ? ’ प्रवक्ता झा को सुझाव छ, ‘की यो सुधार्नुस्, कि आफूले गरेको नालायकीपन स्वीकार गरेर समितिबाट राजीनामा दिनुस् ।’
कुलिङ पिरियडको गडबडीको नैतिक जिम्मेवारी आफूले लिने सभापति खतिवडाले बताएका थिए ।