असार १५ काठमाण्डौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले आज ऐतिहासिक एक सयौँ खेल खेल्दैछ । आज नेपालले लाओसविरुद्ध खेल्दै एएफसी एसियन कप छनोटको यात्रा सुरु गर्नेछ ।
उज्वेकिस्तानको पख्तकोर सेन्ट्रल स्टेडियममा हुने खेल आइतबार साँझ सवा ६ बजे सुरु हुनेछ।
यो खेल नेपालका लागि एसियन कप छनोटको पहिलो खेल हो। पहिलो भेटमै लाओसलाई पराजित गर्दै नेपाल अंक जोड्ने रणनीतिमा छ ।
समूह चरणको दोस्रो खेलमा नेपालले १८ गते श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ। श्रीलंका नेपालका लागि तुलनात्मक रुपमा कमजोर प्रतिद्धन्दी रहँदै आएको छ ।
यही असार २१ गते घरेलु टोली उज्वेकिस्तानसँग समूह चरणको अन्तिम खेल खेल्ने तालिका छ। अघिल्लो दुई खेल जितेर उज्वेकिस्तानलाई बराबरीमै रोक्न सके र गोल अन्तर फराकिलो पार्न सके नेपाल एशिया कपमा छनौट हुन सक्नेछ ।
उज्वेकिस्तानसँगको तीन भेटमा नेपाल अहिलेसम्म सबै खेलमा हार बेहोरेको छ।
नेपाल समूह एफ को विजेता बने सन् २०२६ को मार्चमा अष्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा खेल्ने अवसर पाउनेछ। यसपटकको छनोटमा एसियाका ३४ टोली सहभागी छन्, जसलाई ८ समूहमा विभाजन गरिएको छ।
अहिलेसम्म आयोजक अष्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापानले च्याम्पियनसिपका लागि स्थान सुरक्षित गरिसकेका छन्। कुल १२ टोली एसियन कपको मुख्य प्रतियोगितामा सहभागी हुनेछन्।