काठमाडौँ असार १४ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेको सक्रिय राजनीतिमा आएको घोषणा गरेकी छन् ।
जननेता मदन भण्डारीको ७४ औँ जन्म जयन्तीका अवसरमा शनिबार मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा भण्डारीले यस्तो घोषणा गरेकी हुन् ।
उनले देश र जनताको सेवा गर्ने उद्देश्यले आफूले पार्टीको सदस्यता नवीकरण गरिसकेको जानकारी दिईन्। भण्डारीले भनिन्– ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट अलग भएपछि नेकपा एमालेमै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तर दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु ।’
उनले अब आफू नेकपा एमालेको परिवारको सदस्यको रूपमा पुनः जोडिएको घोषणा गर्दै यसमा आफू गर्व गरेको बताइन् । उनले यसमा आफ्नो कुनै विशिष्ट लक्ष्य नभएको भन्दै देश र जनताको सेवा गर्ने एक मात्र उद्देश्य रहेको बताइन् ।
जननेता मदन भण्डारीको भनाई स्मरण गर्दै भण्डारीले जनता भगवान र राजनीतिमा थकाई नहुने बताइन् ।