असार १३ चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू राजनीतिबाट रिटाएर्ड हुने समय आएको भन्दै अब काँग्रेसलाई बलियो बनाउने ईच्छा रहेको बताएका छन् ।
नेपाली कांग्रेस चितवनले आज चितवनमा आयोजना गरेको प्रजातन्त्र सेनानी स्व गौरीदेवी प्रधानको सातौं दिनको पूण्यतिथिको अवसरमा आयोजित श्रद्धाञ्जलीसभामा उनले पार्टी भित्रको गुटगत लडाइँप्रति चिन्ता व्यक्त गरे । ‘टिकट एउटाले पाउँछ, नपाउने हराउन लाग्छ । हाम्रो पार्टीको रोग नै यही हो,’ देउवाले भने, ‘हामी एक हुने हो भने हाम्रो पार्टीले एक्लैले बहुमत ल्याउन सक्छ । म रिटायर्ड हुन लाग्या छु । यो पार्टीलाई एक बनाउने इच्छा छ ।’
पार्टीभित्र एकता भए निर्वाचनमा एक्लै बहुमत ल्याउन सकिने र अरु पार्टीसँग तालमेल गर्न नपर्ने उनले बताए ।
‘यही पार्टीको सभापति भएँ, पार्टीकै कारण पटक–पटक प्रधानमन्त्री पनि भएँ, पार्टीलाई मुलुकभर बलियो बनाउने बाहेक मेरो कुनै उद्देश्य छैन,’ देउवाले भने ।
समानुपातिक र समावेशी प्रतिनिधित्वसहितको अहिलेको संविधान राम्रो भएको देउवाले बताए ।
स्वर्गीय गौरीदेवी प्रधान र उनका श्रीमान् श्यामकृष्ण प्रधानले देखाएको बाटोमा लागेर उनीहरुले छाडेका अपूरा काम पूरा गर्न आवश्यक रहेको देउवाले बताए ।