काठमाण्डौँ असार ८ । प्रतिनिधि सभाका सांसद अमरेशकुमार सिंहले चार–पाँच वटा जिल्लामा मात्रै बजेट परेको भन्दै अन्य जिल्लालाई अरू देशलाई नै लिजमा दिऊँ भनेपछि संसदमा हंगामा भएको छ ।
आज बसेको प्रतिनिधि सभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सिंहले चार–पाँच वटा जिल्लाबाहेक अरू जिल्लालाई अर्कै देशलाई लिजमा दिऊँ भन्ने अभिव्यक्ति दिएपछि नेकपा (एमाले) ले नियमापत्ति जनाएको हो।
सांसद सिंहको अभिव्यक्तिमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले प्रतिनिधिसभा नियमावली २०७९ को नियम २०, २१ र २३ देखाउँदै नियमापत्ति जनाएका थिए।
‘सहरी विकास मन्त्रालयबाट सुरू गर्छु। काठमाडौंमा ३ करोडको दरले १३१ योजना छ। काठमाडौंमा १३१ योजना छ भने मेरो जिल्लामा १५(२० वटा योजना त पर्थ्यो। ठीक छ मैले त्यति भाग खोजेको होइन। सर्लाहीको जनतालाई २० राखे हुन्थ्यो,’ उनले भने, ‘बजेटलाई निजी सम्पत्ति ठानेर सुदूरपश्चिममा गेटा मेडिकल कलेज खोल्ने, मधेस प्रदेशमा एउटा पनि मेडिकल कलेज नखोल्ने।’
यति भनेपछि नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले बोल्न खोजे।
सभामुख देवराज घिमिरेले सिंहलाई रोकेर बर्तौलालाई बोल्न समय दिएका थिए।
बर्तौलाले भने नियमापत्तिसँगै सिंहले बोलेको अभिव्यक्ति राष्ट्रघाती भएको भन्दै संसदको रेकर्डबाट हटाउन माग गरेका हुन्। उनले सिंहलाई कारबाही समेत गर्न माग गरेका थिए।
त्यसपछि सभामुख घिमिरेले सांसद सिंहलाई सचेत गर्दै उनले सांसद अमरेश सिंहले बोलेको ु७२ जिल्लालाई लिजमा अर्को देशलाई दिऊँ, अमेरिकालाई दिऊँ, चाइनालाई दिऊँ, भारतलाई दिऊँु भन्ने अभिव्यक्ति रेकर्डबाट हटाउन रूलिङ गरेका थिए।
‘उहाँले अरू मुलुकको नाम लिएर नेपालको भूमि दिए हुन्छ भनेर बोलेको कुरालाई संसदमा असंसदीय भाषा प्रयोग भयो। राष्ट्रमाथि प्रश्न खडा हुने खालको भाषा प्रयोग भयो भन्ने ध्यानमा राखेर यसलाई रेकर्डबाट हटाउन निर्देशन गर्दछु,’ उनले भने।
सभामुखको निर्देशन पछि सांसद सिंहको अभिव्यक्ति संसदको रेकर्डबाट हटाईएको छ ।