४ असार, हेटौंडा। हेटौंडा उपमहानगरपालिका १ का अध्यक्ष तथा उपमहानगरका प्रवक्ता सविन न्यौपानेमाथि एक समुहले आक्रमण गरेको छ ।
भूमि सम्बन्धि समस्या देखाउदै कालो पोशाक लगाएर मोटरसाइकलमा आएका चारजनाको समूहले उनमाथि कार्यकक्षमा आक्रण गरेका हुन् । उनीहरुले अध्यक्ष न्यौपानेमाथि कार्यालयमा रहेको सामग्रीबाट टाउकोमा प्रहार गरी मोबिल छ्यापि दिएका छन् ।
उपमहानगरपालिकाको कार्यपालिका बैठकले सार्वजनिक जमिन संरक्षण दायित्व स्थानीय तहको रहेको स्थानिय तह सञ्चालन ऐन २०७४, मुलुकी देवानी संहिंता २०७४ लगायत कानुनको पालना गर्दै आफ्नो काममा लागि रहदा अध्यक्ष न्यौपानेमाथि कार्यकक्षमै आक्रमण भएको हो ।
आक्रमणबाट अध्यक्ष न्यौपाने घाइते भएका छन्। उनको टाउकोमा चोट लागेको छ । घटनाका क्रममा अध्यक्ष न्यौपानेले प्रयोग गर्ने दुईवटै मोबाइल आक्रमणकारीले लगेको अध्यक्ष न्यौपाने बताए ।
घटनापछि हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामा, उपप्रमुख राजेश बानियाँ सहित वडा अध्यक्षहरु घटना स्थल पुगेका छन्। प्रहरीले आक्रमणकारीको खोजी शुरु गरेको छ ।