जिल्ला अदालत काठमाडौँले दुर्गा प्रसाईंलाई थुनामै राखेर कार्बाही गर्न आदेश दिएको छ ।
न्यायाधीश ध्रुवराज कार्कीको इजलासले बिहीबार मध्यराति गरेको आदेशअनुसार दुर्गा प्रसाईंसहित ७ जना अभियुक्त यस मुद्दाको किनारा नलाग्दासम्म थुनामै बस्नुपर्नेछ।
जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाइएकाहरुमा तारा राजावादी भन्ने सरोज गौतम, अनुप राजावादी भन्ने गोकर्ण शाही, डण्डपाणि रेग्मी, सुशील बराल, केशब बस्नेत र कुमार तामाङ छन्।
अन्य ३२ अभियुक्तलाई धरौटीमा छाड्न अदालतले भनेको छ।
चैत १५ गतेको राजावादी प्रदर्शन हिंसात्मक बन्दा दुई जनाको ज्यान गएको थियो। आन्दोलनकारीले आगो लगाउँदा पत्रकार सुरेश रजकको जलेर ज्यान गएको थियो। निजी तथा सार्वजनिक घर तथा सम्पत्ति तोडफोड, आगजनी र लुटपाट पनि भएको थियो। त्यसको नेतृत्व प्रसाईँले गरेका थिए।
प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको थियो। यो प्रदर्शनको कमाण्डर दुर्गा प्रसाईं तोकिएका थिए।
प्रसाईँविरुद्ध प्रहरीले राजद्रोह, आपराधिक उपद्रव, कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र संगठित अपराधको अभियोगमा मुद्दा चलाएको थियो।