काठमाडौँ । भिजिट भिसा प्रकरणलाई लिएर संघीय संसद् प्रतिनिधिसभामा जारी अवरोधका सम्बन्धमा प्रमुख प्रतिपक्षी माओवादी, विपक्षी दलहरू रास्वपा, एकीकृत समाजवादी र आम जनता पार्टीबीच छलफल भइरहेको छ ।
प्रतिनिधिसभा बैठक बुधबार दिउँसो १ बजेका लागि बोलाइएको छ । त्यसअघि विपक्षी दलहरूको बैठक बसिरहेको हो । बैठकमा रास्वपाले सत्तारुढ कांग्रेसलाई जेठ २६ मा बुझाएको पाँच बुँदे प्रस्तावबारे छलफल भइरहेको माओवादी उपमहासचिव वर्षमान पुनले जानकारी दिए ।
बैठकमा माओवादीबाट पुन र प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार, एकीकृत समाजवादीका राजेन्द्र पाण्डे र आजपाका प्रभु साहलगायत विपक्षी दलका सांसद सहभागी रहेका छन् ।
यो बैठकले रास्वपाले राखेको प्रस्तावमा साझा धारणा तय गर्ने र सत्तारुढ दलहरू कांग्रेस र एमालेसँग थप छलफल गर्ने पुनले जानकारी दिए ।
रास्वपाले भिजिट भिसा प्रकरणमा छानबिन गर्नका लागि समिति गठन गर्नुपर्नेलगायतका प्रस्ताव कांग्रेस समक्ष राखेको थियो । यसअघि माओवादी, रास्वपा लगायत विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा गर्नुपर्ने माग राख्दै आएका थिए । पछिल्लो समय भने उनीहरूले उक्त प्रकरणको छानबिन गर्न संसदीय वा न्यायिक समिति गठन गर्नुपर्ने माग गर्दै आएका छन् ।