स्कटल्यान्डमा जारी आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजमा संघर्षपूर्ण खेलमा नेपाल २ रनले पराजित भएको छ ।
आइतबार राति सम्पन्न खेलमा नेपाल स्कटल्यान्डसँग २ रनको झिनो अन्तरले पराजित भएको हो। सिरिजको पहिलो खेलमा नेपालले स्कटल्यान्डलाई १ विकेटले पराजित गरेको थियो।
जारी सिरिजमा नेपालले पहिलो हार व्यहोर्दा स्कटल्यान्डले भने लगातार दोस्रो जित निकालेको हो।
सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्यान्डलाई ५ विकेटले हराएको थियो। सिरिजको अन्तिम खेलमा नेपालले नेदरल्यान्डसँग मंगलबार खेल्नेछ।
घरेलु टोलीले दिएको ३ सय २४ रनको विशाल लक्ष्य पछ्याएको नेपालले निर्धारित ५० ओभरमा ३ सय २१ रन बनाउँदा अलआउट भयो।
नेपाललाई अन्तिम २ ओभरमा १६ रन चाहिएको अवस्थामा क्रिजमा करण केसी र सन्दीप लामिछाने थिए। ४९ औँ ओभरमा नेपालले ९ रन बटुलेको थियो अन्तिम ओभरमा नेपाललाई मात्र सात रन चाहिएको थियो।
अन्तिम ओभरको तेस्रो बलमा करण केसी क्याच आउट हुन पुगे। १० बलमा १७ रन बनाएका करण लामो सट खेल्ने धुनमा क्याच आउट हुँदै पेभेलियन फर्के। अन्तिम बलमा ललित राजवंशी बोल्ड आउट भए।
नेपालका लागि भिम साकीले सर्वाधिक ७३ रनको योगदान दिएपनि टोलीको हार टार्न सकेनन्। ८५ बलमा ८ चौका सहयोगमा ७३ रन बनाएका भिम क्याच आउट हुन पुगे।
७।१ ओभरमा ३–३४ को अवस्थामा रहेको नेपालको चौथो विकेटका लागि भिम सार्की र आरिफ शेखले ९४ रनको साझेदारी गर्दै नेपालको इनिङ्स उकासेका थिए।
५५ बलमा ५ चौका सहयोगमा ३९ रन बनाएका आरिफ माइकल लिस्कको बलमा बोल्ड आउट हुन पुगे। गुल्सन झा ११ रन बनाउँदा माइकल लिस्क कै बलमा क्याच आउट भए।
सातौँ विकेटका लागि दिपेन्द्र सिंह ऐरि र सोमपाल कामीले १ सय ७ रनको साझेदारी गर्दै नेपालको पारी सम्हालेका थिए।
दिपेन्द्र ४६।३ ओभरमा चार्ली क्यासेलको बलमा क्याच आउट हुन पुगे। ५१ बलमा २ चौका सहयोगमा ५६ रन बनाएका दिपेन्द्र क्याच आउट हुन पुगे।
सोमपाल कामी ६७ रनमा क्याच आउट नै हुन पुगे। उनले ४४ बलमा ३ चौका र ६ छक्का सहयोगमा ६७ रन बनाउँदा क्याच आउट नै भए।
त्यसअघि स्कटल्यान्डको डुन्डीस्थित फोर्थहिलमा टस जितेर ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय २३ रनको योगफल तयार पारेको थियो।
छैटौँ विकेटका लागि कप्तान बेरिङटन र माइकल लिस्कले नेपालविरुद्ध १ सय २३ रनको कीर्तिमानी साझेदारी गरे। कप्तान रिची बेरिङटनले सर्वाधिक १ सय २ रन बनाउँदा रन आउट हुन पुगे। उनले १ सय १४ बलमा ६ चौका र ४ छक्का प्रहार गरे।
विष्फोटक ब्याटिङ गरेका माइकल लिस्क ९६ रनमा नटआउट रहे। लिस्कले ६२ बलमा १२ चौका र ३ छक्का प्रहार गरे। ९ बलमा ३ छक्का प्रहार गरेका मार्क वाट २१ रनमा नटआउट रहे।
ओपनर चार्ली टियरले ६८ रन थपे। ६५ बलमा ९ चौका सहयोगमा ६८ रन बनाएका चार्ली ललित राजवंशीको बलमा बोल्ड आउट भए।
फिन्ले म्याक्रिथ १७ रन बनाउँदा दिपेन्द्र सिंह ऐरिको बलमा एलबीडब्लु धरापमा परे। ब्राडोम म्याकमुलेन ५ रनमा करण केसीको बलमा कट एण्ड बोल्ड हुन पुगे।
अर्का अोपनर जर्ज मुन्से शून्य रनमा नै पेभेलियन फर्के। पावर प्लेमा राम्रो सुरुवात गरेको नेपालले २० ओभरपछि नेपालका लागि करण केसी र दिपेन्द्र सिंह ऐरिले समान २ विकेट लिए। ललित राजवंशीको नाममा एक विकेट रह्यो।