पहिरोबाट सिर्जित प्रकोपहरूबाट हुने क्षति न्यूनीकरण गर्न दुई किसिमले सकिन्छ। (१) पहिरोका संख्या घटाउने कार्य र (२) पहिरो प्रवण क्षेत्रमा रहेका संरचनाहरूलाई स्थान्तरण गर्ने।
१. (क) पहिरोका संख्या कम गर्न जमिनको सतहको ढलानको ज्यामिती परिमार्जन गर्ने अर्थात् विद्यमानमा रहेको जमिनको भिरालोपनको मात्रालाई कम भिरालो बनाउने
(ख) ती नयाँ निर्मित सतहमा दुबोजस्ता माटोलाई बिरुवाको जराले बेस्सरी समात्ने खालका झारहरू लगाउने
(ग) चट्टानका जोर्नीहरू र दरारहरू ग्राउट गर्ने अर्थात चट्टानको छिद्रहरूमा विशेष रूपमा तयार पारिएको सिमेन्टमा आधारित मिश्रणहरू जमिनमा इन्जेक्सन गर्ने
(घ) जमिनको सतह र सतहमुनिको पानीको निकासलाई मार्गबद्ध गर्ने
(ङ) रिटेनिङ भित्ताहरूको निर्माण गर्ने
(च) वैज्ञानिक अनुसन्धान बिना जताभावी भिरालो जमिनमा संरचनाहरू जस्तै: घर, गोठ, बाटो, नहर तथा कुलो निर्माणमा रोक लगाउने।
२. यसअगाडि नै बनिसकेका संरचनाका हकमा भने कसरी पहिरोको प्रकोपबाट क्षति कम गर्ने भन्ने आफ्नो निजी विचार यस प्रकार छ।
यस लेख लेख्ने क्रममा सेटलाइटबाट प्राप्त हुन सक्ने सूचनाको आधारमा सानो शोध कार्य गरिएको छ। यो शोध कार्य ८ वटा सूचकहरू (भूमि उपयोग, माटोको प्रकार, जमिनको ढलान, भूविज्ञान, सतहको नरमपन सूचकांक, वर्षा, नदीको घनत्व र नदी दुरी) को प्रयोग गरेर गरिएको हो। यसका लागि अमेरिकी वातावरणीय प्रणाली अनुसन्धान संस्थानले विकास गरेको सफ्टवेयर (जिआइएस) प्रयोग गरेर गरिएको छ।
चितवन जिल्लामा पर्ने ऋद्धि खोला (काली खोला) को जलाधार क्षेत्रभित्र पर्ने १४० वर्ग किलोमिटरको क्षेत्रभित्र जम्मा ०.५७ वर्ग किलोमिटर भूमि पहिरोको हिसाबले अति उच्च जोखिममा रहेको पाइयो। ६.५४ वर्ग किलोमिटर मध्यम जोखिम र ६.३८ वर्ग किलोमिटर कम जोखिममा रहेको पाइयो।
यसै क्षेत्र अन्तर्गत पर्ने नारायणघाट-मुग्लिन राजमार्गमा १८ वटा अति जोखिमका क्षेत्र पहिचान भएका छन्। ती ठाउँ नारायणघाटको पुल्चोकबाट क्रमश: १२.८, १८.६, १८.८, १९.०, १९.४, २०.६, २१.७, २२.२, २५.१, २७.३, २९.५, ३३.२, ३४.२, ३४.७, ३५.५, ३६.०, ३६.२ र ३६.८ किलोमिटरको दुरीमा रहेका छन्। यस जलाधार क्षेत्रभित्र २२४ वटा मानव संरचना (घर, गोठ, झुप्रा) पहिरोको सम्भावना क्षेत्रमा रहेको पाइयो।
यसरी पहिरो पहिचान भइसकेका क्षेत्रहरूमा राजमार्गको हकमा पहिरो जोखिममा रहेका स्थानका बीच-बिचमा एक्साभेटरको तैनाथी गरी आवश्यक पर्दाको बखतमा प्रयोग गरी छिटो छरितो किसिमले पहिरो पन्छाउने र सवारी साधनको सहज आवागमन गराउने गर्न सकिन्छ।
इच्छाकामना पालिकाका वडा नम्बर ५ र ६ , भरतपुर भरतपुर महानगरपालिकाका वडा नम्बर २९ का पहिरो प्रवर्ण क्षेत्रमा परेका जम्मा २२४ मानव निर्मित संरचना (घर, गोठ र झुप्रा )हरूको हकमा सम्बन्धित पालिकाहरूले पहिरो प्रवण क्षेत्रका संरचनाहरूलाई सुरक्षित स्थानमा स्थनान्तरण गर्न, बिज पुँजीको व्यवस्था गरी सम्बन्धित घरहरूलाई सुरक्षित स्थानमा स्थनान्तरण गर्न, सार्वजनिक निजी साझेदारीको धारणा बमोजिम लागत साझेदारी गरी सहज र कम खर्चमा गर्न सकिने कुरा राख्न चाहन्छु।