जेठ १७, काठमाण्डौँ । स्वर्गीय प्रकाश दाहाल र ज्ञानु दाहालको स्मृतिमा बनेको प्रज्ञा स्मृति प्रतिष्ठानले यही जेठ २४ गते प्रज्ञा स्मृति प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरीक सुगठन प्रतियोगीता आयोजना गर्ने भएको छ ।
आज नेपाल पुलिस क्लबमा आयोजित पत्रकार सम्मेलनमा प्रतिष्ठानकी निर्देशक गंगा दाहालले दिएको जानकारी अनुसार प्रतिष्ठानको आयोजनामा राष्ट्रिय खेलकुद परिषद् , प्रदेश खेलकुद परिषद् बागमतीको सहयोग रहने छ भने नेपाल शारीरीक सुगठन तथा फिटनेस महासंघ र काठमाण्डौँ शारीरीक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा यो प्रतियोगीता हुन लागेको हो ।
यो राष्ट्रिय स्तरको प्रतियोगीता भएको निर्देशक दाहालले बताईन् । यस प्रतियोगीतामा पुरुषतर्फ ६०, ६५, ७०, ७५, तथा ७५ केजी माथिको तौल समुहबीच प्रतिस्पर्धा हुनेछ भने महिला तर्फ खुला प्रतिस्पर्धा हुनेछ ।
देशभरबाट करिब एक सय जना खेलाडीले सहभागीता जनाउने आयोजकको अपेक्षा रहेको छ ।

प्रतियोगीतामा पुरुष तर्फ प्रत्यक तौल समुहका प्रथम हुनेलाई ५० हजार, द्धितीयलाई ४० हजार , त्रितीयलाई ३० हजार, चौथोलाई २० हजार र पाँचौ हुनेलाई १० हजार नगद र मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।
यसै गरी महिला खुला समुह तर्फ प्रथम हुनेलाई एक लाख, द्धितीय हुनेलाई ५० हजार, त्रितीयलाई ३० हजार, चौथोलाई २० र पाँचौ हुनेलाई १० हजार नगद सहित मेडल र प्रमाण पत्र प्रदान गरिनेछ ।

यसै गरी फाईनलमा प्रत्यक समुहको बिजेताहरुबीच प्रतिस्पर्धा गराई सर्वोत्कृष्ट खेलाडीलाई “प्रथम मिस्टर प्रज्ञा स्मृति” को उपाधी सहित २ लाख ५० हजार नगद सहित ट्रफी प्रदान गरिनेछ ।
प्रतियोगीतामा राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिईसकेका खेलाडीले पनि प्रतिस्पर्धा गर्न पाउने आयोजकले जानकारी दिएको छ ।
