ईश्वर पोखरेल र उनका आमासँगका सम्झनाका तरेलीहरु

ईश्वर पोखरेल र उनका आमासँगका सम्झनाका तरेलीहरु

  • शुक्रबार, जेष्ठ ९, २०८२
  • सानुमैँया खड्का (सविता)

  • 9.7K
    SHARES

साङग्रिला मिडिया ग्रुप प्रालिले प्रकाशन गरेको आमा सपना र ताराहरु पुस्तक, दमन र प्रतिरोधको कथा (२०४१), माघ १९ (२०६३), पूर्वको रातो तारा (२०७२) र राष्ट्रिय सुरक्षा र नेपाली सेना (२०७७) पछि चौथो सन्तान वा कृतिकोरुपमा अहिले बजारमा आएको छ । १ सय ४० पृष्ठको उक्त पुस्तकमा आमाप्रति समवेदित कविता बाहेक २४ वटा शीर्षकहरु समेटिएको छन । उक्त पुस्तकको भूमिका पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले लेख्नु भएको छ ।
संसारमा थुप्रै साहित्यकारहरुले, राजनीतिक नेताहरुले आमासम्वन्धी लेखहरु, पुस्तकहरु लेखेका छन । आमा सम्वन्धि आफना अभिव्यक्तिहरुमा सम्मान प्रकट गरेका छन । ईश्वर पोखरेलको आमाकाबारेमा चर्चा गर्नुभन्दा अगाडि संयुक्त राज्य अमेरिकाका १६ औँ राष्ट्रपति, दासप्रथा अन्त्य गर्ने व्यक्ति अब्राहम लिंकनको आमाप्रतिको समर्पणको एउटा वाक्य यहाँ उल्लेख गर्न उपयुक्त हुन्छ “म जे छु, वा जे बन्ने आशा राख्छु, त्यो सबै मेरो परी समान आमाकै कारण हो “। ईश्वर पोखरेलको आमा सपना र ताराहरु पढेपछि लिंकनको आमाप्रतिको बुझाई जस्तै आज ईश्वर पोखरेल राजनीतिक, सामाजिक र सांस्कृतिक व्यक्तित्व जे हुनुहुन्छ, त्यो पोखरेलले आफु १० बर्षको उमेर हुँदा उहाँकी आमासँग सिकेका सामाजिक, साँस्कृतिक आर्थिक कक्षाहरुबाट सिकेको ज्ञान र संस्कारको परिणाम हो भनेर किटान गर्न सकिन्छ ।

पोखरेलकी आमाको संघर्ष र ईश्वर पोखरेलको बाल्यकालको कथा
भोजपुर गोगनेका ज्योतिष नरनाथ न्यौपानेकी छोरी, ईश्वर पोखरेलकी आमाको जन्म वि. सं. १९७० चैत्र ३० गते भएको हो । उहाँको न्वारानको नाम रामकुमारी र बोलाउने नाम लालकुमारी थियो । उनै लालकुमारीको ओखलढुङ्गा माम्खा रुपनालुका मेघनाथ पोखरेलका १४ बर्षे छोरो शिवराज पोखरेलसँग ११ बर्षको उमेरमा विवाह भएको थियो । एघार बर्षको उमेरमा गोगनेबाट विवाह गरेर माम्खा आएकी ईश्वर पोखरेलकी आमाले बाह्रजना सन्तानलाई जन्म दिनुभयो । ४० बर्षको उमेरमा कान्छो सन्तानकोरुपमा ईश्वर पोखरेलको २०१० साल चैत्र २५ गते पुर्णिमाको राती जन्म भएको थियो । लेखक ८ बर्षको उमेर हुँदा २०१८ सालमा उहाँको बुवाको स्वर्गारोहण भयो । एउटा मध्यम बर्गिय किसान र ब्रामण परिवारको यो परिवेश र अवस्थाबाट ईश्वर पोखरेलकी आमाको संघर्षको कथा र ईश्वर पोखरेलको जीवन भोगाईलाई प्रस्तुत पुस्तकले उजागर गरेको छ ।

औतारी लामाको उपचारको साँझ नै जीवन पाएको र जीवन बाँच्ने आशामा आमा छोराका ओठमा देखिएका मुस्कान र छोराको दीर्घजीवनकालागि औतारी लामाको दलानमा सुतेर उपचार गर्ने पोखरेलकी आमाप्रतिको सम्मान किताबले बोलको छ ।

मानिसहरु सवैका आफना कथाहरु छन, व्यथाहरु छन । कथा र व्यथाहरुलाई जितेको मान्छे मात्रै महान वन्दछ, जसरी एउटा ढुङगो छिनोका हजारौ चोटहरु सहेर देउता वन्दछ त्यस्तै मान्छेपनि अनेक चोट र प्रहारहरु सहेर मात्रै आफनो लक्ष्य र उचाई प्राप्त गर्न सक्दछ । ईश्वर पोखरेलको जीवनमा पनि आफना वाल्यकालका, भुमिगतकालका यस्तै सयौँ कथाहरु छन । व्यथाहरु छन । भावनाहरु छन । भावना र यथार्थका अन्तरद्धन्द्धहरु छन । यो पुस्तक ईश्वर पोखरेलको बाल्यकालका भुमिगतकालका भोक, अभाव, सपनाहरु र आमाप्रति समर्पित क्यानभास हो । बाल्यकालको संघर्षबाट सुरु भएको पोखरेल र उहाँकी आमाको संघर्ष र जीवनका हरेक कालखण्डहरुमा उहाँको छातीभित्र टाँसिएकी सजिएकी आमाप्रतिको समर्पणको कथा हो यो पुस्तक ।
कितावमा आमाको फोटो शुरुमै राखिएको छ, तर उहाँकी आमाको नाम के रहेछ भनेर पाठकले तुरुन्तै थाहा पाउँदैन । त्यहाँ आमाको नाम, जन्ममिति र स्वर्गारोहण मिति राखिदिएको भए आमाकोबारेमा पहिले पाठकहरुले बुझने थिए । कितावको प्रारम्भमा ईश्वर पोखरेल जन्मिएको गाउँ माम्खा, रुपनालु, त्यसको भौगोलिक वातावरणीय र आर्थिक पक्ष (पेशा, दैनिक दिनचर्या) उहाँका परिवारका सदस्यहरुको विवरण, उहाँको जन्म मिति, बाबाको अल्पआयुमा स्वर्गारोहण भएपछि उहाँको परिवारले भोगेको कठिनाई, लेखकको वाल्यकालको अवस्था, दाजुहरु परदेशी बनेपछि र दिदीहरुको बिहे भएपछि १० बर्षको उमेरसम्म उहाँले आमासँग विताएका क्षण र संघर्षकोबारेमा जानकारी पाइन्छ ।

गयाको श्राद्धपछि जनकपुरको यात्रा
कितावले हामीलाई बताएको कुरा के हो भने रोगी बाबाको मृत्यु नजिक छ भन्ने अनुमानमा कलिलो उमेरमा लेखकको व्रतबन्ध गर्ने आमा, आफ्ना पति स्वर्ग पुग्ने विश्वासमा कान्छो छोरालाई लिएर पुन पुन र गया पुगेर श्राद्ध गर्ने आमा, ब्राह्मण परिवारको ज्योतिषमय संस्कारमा जन्मिएकी र बाह्र सन्तान जन्माएकी पोखरेलकी आमा साँच्चै महान् थिइन । जसले मृत्यु भएकादेखि बाहेक सबै सन्तानहरू घर बाहिर निस्किएर आफ्नो भविष्य निर्माण गरुन् भन्ने दृढ चाहना राखेकी थिइन । त्यसैले त गयामा आफ्ना पतिको श्राद्ध गरेर फर्किएपछि आफूसँग रहेको एउटा कान्छो छोरालाई पनि उसको शिक्षादीक्षा र उज्ज्वल भविष्यका लागि आफू रुपनालुमा एक्लै बस्न र दुःख गर्न तयार भइन । उनले जबरजस्ती पोखरेललाई जनकपुरमा रहेका दाजुकहाँ पुरयाईन । पोखरेल नमान्दा नमान्दै पनि मुटु माथि ढुङ्गा राखेर आफ्नो कान्छो छोरालाई जनकपुर छोडेर माम्खा रुपनालु फर्किने आमा निकै दूरदर्शी थिइन ।
पुस्तक पढ्दै जाँदा के थाहा पाइन्छ भने के ईश्वर पोखरेल १० वर्षको उमेर हुँदासम्म निरक्षर नै थिए ? गयामा श्राद्ध गरेर फर्किए पछि आमाको करबलले उनलाई जनकपुर नलगेको भए वा जनकपुर पुगेर पनि उनको आमासँग फर्किने जिद्धि हठलाई आमाले जित्न नसकेको भए आज ईश्वर पोखरेलको जुन अग्लो व्यक्तित्व छ, त्यो हुने थियो कि थिएन होला ? किताब मौन छ, यस्ता विषयमा लेखकले खुल्न सक्नु पर्दछ ।

आमा र छोराको मिलन र बिछोडको अन्र्तद्धन्द्ध
सवै मानिसहरुलाई आफनो आमा महान नै लाग्छ । सबै मानिसहरूको आफूलाई जन्मदिने आमाप्रति सम्मान हुन्छ नै । तर ईश्वर पोखरेलको आमासँगको सम्मान अलि फरक खालको छ । प्रस्तुत पुस्तकमा पोखरेलका आमासँगका थुप्रै मिलन र बिछोडका अन्र्तद्धन्द्ध भए पनि यहाँ आमासँगको मिलन र बिछोडका केही प्रसङगहरु उल्लेख गर्नु सान्दर्भिक हुन्छ । जब गयामा पोखरेल र उहाँकी आमा श्राद्ध गरेर घर फर्कन्छन्, त्यसपछि उहाँकी आमाले उहाँलाई जनकपुर दाई कहाँ राखेर पढाउने अठोट गर्नुहुन्छ । पाँच दिन लगाएर भरिया र ढाकर सहित जनकपुर पुगेका पोखरेल, दाजुको घर वा डेरा थाहा नपाएर जानकी मन्दिरको धर्मशालामा बसेको कथा पनि पुस्तकमा पढ्न पाइन्छ । एक महिनाको आमाको जनकपुर बसाई पछि जब आमा ओखलढुङ्गा माम्खा फर्कँदा उहाँ आमासँग फर्कन जिद्धि गरेको तर लेखकको शिक्षादीक्षा र उज्ज्वल भविष्यकालागि आमाले उहाँलाई पछाडिसम्म नहेरी कठोर भावनाकासाथ छोडेर हिँडेको प्रसङले भावना कमलो भएका पाठकहरूको आँसु आउन सक्दछ ।
आमासँगको त्यस्तै मिलन र बिछोडको त्यस्तै अर्को हृदय विदारक प्रसङ्ग छ उक्त पुस्तकमा । जब पोखरेलले कीर्तिपुरमा वि.एड सम्मको अध्ययन सकेर, स्वीजरल्याण्डमा उच्च शिक्षाकालागि पाएको ५ बर्से छात्रवृत्ति त्यागेर उहाँका सहपाठी रत्न कुमार वान्तता सहित भूमिगत हुने प्रण गरेर जनकपुर पुग्नु हुन्छ । आमाले आफ्नो शिक्षित कान्छो छोराबाट अपेक्षा राख्नु स्वाभाविक हो । छोरा, अव म झापा जनकपुर र ओखलढुङ्गा गर्न सक्तिन, म तिमीसँग बस्छु भन्ने आमाको बुढेसकालको सहारा बन्ने अपिलका बाबजुद पनि एक साँझ, ईश्वर पोखरेलको भूमिगत जीवन बिताउन घरबाट निस्कनु भयो, साथीकहाँ जाने बहाना गरेर । जब उहाँ एउटा लुङ्गीमा सानो झोला च्यापेर घरबाट निस्कनु हुन्छ । आमाले उहाँलाई पछि पछि आएर उहाँको हात समाउँदै कान्छा, केही खाएर जाऊ भन्दा समेत क्रान्तिकालागि भूमिगत हुन खोजेको छोराले आमाको हात झडकाडेर हिँडेको र अलिवर आएर मनभरि रोएको प्रसङ्गले पनि पाठकहरूलाई रुवाउन सक्छ ।

आमासँग भेटेको मार्मिक घटनाहरू, माया र बाध्यताकोवीचमा आमा छोराका गाँसिएका र च्यातिएका मनहरू पुस्तकका प्रमुख पक्ष हुन । जसले माया, सम्मान र बाध्यताको अन्तरद्धन्द्धमा मनहरू कसरी हाँस्छन् र कसरी रुन्छन् भन्ने कुरा पाठकहरूलाई बुझन सहयोग गर्दछ ।

त्यस्तै झापामा आमासँगको अर्को पोखरेलको प्रसङ्ग छ । उहाँकी आमा दाइको घर झापा हुनुहुन्थ्यो । लामो समयको भूमिगत जीवनपछि उहाँ लुक्दै छिप्दै झापा पुग्नु भयो । साँझको समय थियो । अँध्यारोले मान्छे चिन्न कठिन थियो । उहाँ भूमिगत जीवन बिताइ रहेको मानिस सिधै घरभित्र जान पनि सम्भव थिएन । उहाँ घर बाहिर यता उता गरिरहेको अवस्थामा घरको सहयोगी मानिस उहाँलाई चोर हो की भनेर चिर्पट बोकेर आएको र उहाँलाई हान्न खोज्दा आमा भनेर चिच्याएको र आमाले बोलीबाट चिनेर उहाँलाई घरभित्र लगेको र राती केही समय आमासँगको भलाकुसारी पछि उज्यालो नहुँदै आमासँग बिदा भएर बाटो लागेको अत्यन्तै मार्मिक प्रसङ्गले पनि पाठकको मन रुवाउन सक्छ । त्यस्तै एक महिला लामो चीन भ्रमणपछि जनकपुर पुगेर आमालाई झापाबाट झिकाएर आमासँग भेटेको मार्मिक घटनाहरू, माया र बाध्यताकोवीचमा आमा छोराका गाँसिएका र च्यातिएका मनहरू पुस्तकका प्रमुख पक्ष हुन । जसले माया, सम्मान र बाध्यताको अन्तरद्धन्द्धमा मनहरू कसरी हाँस्छन् र कसरी रुन्छन् भन्ने कुरा पाठकहरूलाई बुझन सहयोग गर्दछ ।

औतारी लामा र ईश्वर पोखरेल
ईश्वर पोखरेल बाल्यकालमा रोगी हुनुहुन्थ्यो । बाह्र सन्तान मध्ये ४ सन्तान गुमिसकेको त्यो परिवारमा पोखरेलको जीवन के हुने हो ठेगान थिएन । छिमेकी बस्नेतनी दिदीको सल्लाहमा सोलुको औतारी लामासँग उपचार गर्न नगएको भए के हुन्थ्यो होला पोखरेलको जीवन ? उपचार वा झारफूककालागि बस्नेतनी दिदी र आमाले पोखरेललाई बाटोमा लाँदा बाटोमै मरयो भनेर रोइरहेकी आमा र बस्तेननी दिदीले श्वास बाँकी नै रहेछ भनेपछि आमाले ग्वार्लाम्म अंगोल हालेका प्रसङ्ग साँच्चै हृदय विदारक छ, । यी सबै विवरण र घटनाहरू बुझन पुस्तक पढ्न म पाठकलाई आग्रह गर्दछु । औतारी लामाको उपचारको साँझ नै जीवन पाएको र जीवन बाँच्ने आशामा आमा छोराका ओठमा देखिएका मुस्कान र छोराको दीर्घजीवनकालागि औतारी लामाको दलानमा सुतेर उपचार गर्ने पोखरेलकी आमाप्रतिको सम्मान किताबले बोलको छ । पोखरेल राजकीय निकायको उपल्लो तहमा हुँदा औतारी लामा नभए पनि औतारीको गाउँमा विकासका पुर्वाचारहरु बनाएर ऋण तिर भनेर पोखरेललाई सम्झाउने आमाप्रति हामी सबैको सम्मान छ ।

रुम्जाटार र ईश्वर पोखरेल
प्रस्तुत पुस्तकले रुम्जाटारप्रति लेखकको रुझान लाई समेटेको छ । माम्खा रुपनालुको तुलनामा रुम्जाटार व्यापारिक केन्द्र भएको, भौगोलिक हिसाबले टारकोरुपमा रहेका रुम्जाटारमा सुन्तलाहरू फल्ने, त्यहाँका गुरुङ र गुरुङ्खसेनीहरुप्रति लेखकको निकै ठुलो सम्मान रहेको कुरा पुस्तकबाट बुझन सकिन्छ । सेपिलो रुपनालुबाट नदेखिएको रुम्जाटार हेर्न लेखक धेरैपल्ट डाँडा उक्लिएको, स्वास्थ्य उपचारदेखि अनिकालमा समेत सहारा दिने रुम्जाटार र कवि ज्ञानदील दासको समेत पुस्तकमा वर्णन गरिएको छ । त्यो समयमा त्यति वैभव र इज्जत कमाएको रुम्जाटार अहिले उजाड बन्दै गएकोप्रति लेखकको खिन्नता रहेको प्रसङ्ग बुझन यो पुस्तक उपयोगी हुनेछ ।

विद्यालयको कुराउने र आमाले पकाएको खीर
१० वर्षको उमेरमा जनकपुर आएपछि एकैचोटी चार बर्षपछि लेखक आफ्नो गाउँ फर्कन्छन् बिदामा । तर जनकपुर फर्कने बेलामा आमाले मलाई छोडेर जान्छस कान्छा भन्ने वाक्यले लेखकलाई गाउँमै बस्न बाध्य बनाउँछ । त्यसपछि उनी माम्खा विद्यालयमा कक्षा नौ मा भर्ना हुन्छन् । तर माम्खा विद्यालय पहिलोपल्ट एसएलसी परीक्षामा सामेल हुने भएकोले पोखरेललाई केही समय पछि कक्षा १० मा भर्ना गरिन्छ । लेखकको स्वीकारउक्ती अनुसार उनी पढाइमा उम्दा नभए पनि टेस्ट परीक्षामा पहिलो हुन्छन् । अहो, आफू पहिलो भएको खुसीयाली साटन घर पुगेका पोखरेल, आमा नभेटेपछि आमालाई खोज्दै जाँदा भारी बोकी रहेकी आमालाई छाँद हालेर आफू प्रथम भएको प्रसङ्ग सुनाउँदाका क्षण कम्ती रोमाञ्चकारी छैन पुस्तकमा । सबैभन्दा रमाइलो सन्दर्भ भनेको उनी प्रथम भएको खुसीयालीमा विद्यालयले खुवाएको कुराउनी र आमाले घरमा खुवाएको खीर । जसले गाउँमा सानो सानो खुसी कसरी साटिन्छन् भन्ने कुराको चित्रण गर्दछ । तर यहाँ एउटा खडकिएको प्रसङ्ग के हो भने टेस्ट परीक्षामा प्रथम भएका पोखरेललाई किन दाइले जनकपुर वोलाएर फेरी १० कक्षा मै पढाए ? यो दाइको मूर्खता थियो वा विद्धता ? अनि ९ कक्षामा भर्ना गरेको विद्यार्थीलाई एसएलसीमा राम्रो गर्न सक्छ भनेर १० कक्षामा भर्ना गर्ने स्कुलको अपेक्षालाई पोखरेलले कसरी सम्बोधन गरे ? त्यो पाठकको खुलदुलीलाई लेखकले बताउन सकेका छैनन् ।

पोखरेलको भूमिगत जीवन र आमाको सम्झना र विश्वास
पोखरेल माम्खाको एसएलसी छोडेर जनकपुर आएपछि नै पहिलोपल्ट जुलुसबाट पुलिस हिरासत पुगेका हुन । एसएलसीका लागि उनका सहायक हेडसरले उनलाई जमानीमा छुटाएर एसएलसी दिलाएका हुन । उनी आइए पढ्दा जलेश्वर कारकारमा पर्दा पनि आमालाई यो कुरा थाहा नहोस् भन्थे । कीर्तिपुरको पढाई सकेर भूमिगत भएपछि उनका भूमिगत जीवनका कथाव्यथाहरु यो पुस्तकले पाठकलाई बुझाउँछ । मधेसको प्रचण्ड गर्मी, भोक तिर्खा, दिउसो शरीरमा माटो दलेर गर्मी छलेका दिनहरू साँच्चै हृदय विदारक विवरण र घटनाहरुलाई पुस्तकले समेटेको छ । यी सबै घटनामा आमाको छोराप्रतिको विश्वास कम छ अर्थात छोरा के का लागि जेल गयो ? आमालाई थाहा छैन । तर जब पोखरेल जलेश्वर काराकारमा केशव कोइरालासँगै छन भन्ने सुनेपछि आमालाई मेरो छोरा राम्रै कामका लागि जेल गएको रहेछ भन्ने विश्वास आमालाई भएको कथाहरू यो पुस्तकमा पढ्न पाइन्छ ।

अहो, आफू पहिलो भएको खुसीयाली साटन घर पुगेका पोखरेल, आमा नभेटेपछि आमालाई खोज्दै जाँदा भारी बोकी रहेकी आमालाई छाँद हालेर आफू प्रथम भएको प्रसङ्ग सुनाउँदाका क्षण कम्ती रोमाञ्चकारी छैन पुस्तकमा । सबैभन्दा रमाइलो सन्दर्भ भनेको उनी प्रथम भएको खुसीयालीमा विद्यालयले खुवाएको कुराउनी र आमाले घरमा खुवाएको खीर । जसले गाउँमा सानो सानो खुसी कसरी साटिन्छन् भन्ने कुराको चित्रण गर्दछ ।

पुस्तकमा मिरा गुरुआमासँगको उहाँको विवाह, आमाले बुहारी भेट्न चाहेको चाहना र बुहारी भेटपछि आमाले बुहारीप्रति देखाएको माया, ६५ वर्ष पछि उपप्रधान तथा रक्षा मन्त्री हुँदा पहिलो पल्ट मावली घर पुगेको प्रसङ्ग अत्यन्तै रोचक छन । सिपी मैनाली र पोखरेलको चीन यात्राको क्रममा, चीन प्रवेश देखी चीनका भूभागहरू घुमेका विवरणहरू तर चिनियाँ सेनाले चीनवाट फर्कँदा चीनमा टिपेका टिपोटहरू ल्याउन नदिएको यथार्थतालाई पुस्तकले समेटेको छ ।
किताबमा वर्णन गरेर मात्रै होइन, ईश्वर पोखरेलकी आमा साँच्चै महान् हुनुहुन्थ्यो । आफू मर्ने वेलामा आमाले महान् कार्य आँखा दान गर्नुभयो । एउटा छोराले आफ्नी आमाका नेत्र ज्योतिबाट कसैले संसार हेरिरहेको प्रसङ्ग उप्काउँदा र एउटा छोराको भावनाबाट आमाको बाल्यकालदेखि मृत्युसम्मको महान सोच र कर्मले कुन सन्तानले गौरव गर्दैन होला, लेखकले यो पुस्तकमा आफनो आमाप्रतिको सम्मान भावलाई माथिल्लोस्तरबाट उजागर गरेका छन ।

म्याक्सिम गोर्कीको उपन्यास पावेलकी आमा र ईश्वर पोखरेलकी आमा
ईश्वर पोखरेलकी आमालाई रुसी साहित्यकार म्याक्सिम गोर्कीद्वारा लेखिएको र सन् १९०६ मा प्रकाशन गरिएको ‘आमा’ उपन्याससँग पनि तुलना गर्न सकिन्छ । रुसी क्रान्तिकालीन यथार्थता, मजदुर आन्दोलन, र राजनीतिक सचेतनालाई केन्द्रमा राखेर लेखिएको मदर उपन्यासले सुरुमा डरपोक, चुपचाप र परम्परागत जीवन बाँचिरहेकी एक मजदुरकी आमा तर उनको छोरा पाभेल जब क्रान्तिकारी विचारमा लाग्छ, त्यसपछि पाभेलकी आमा पनि उसको विचार, सपना, र सङ्घर्ष बुझेर क्रान्तिकारी सचेतनाको मार्गमा हिँडेजस्तै ईश्वर पोखरेलकी आमा पनि उनको सङ्घर्ष बुझेर बदलिएको उक्त पुस्तक वाट बुझन सकिन्छ । फरक यति हो, गोर्कीको उपन्यासमा वर्णन गरिएकी आमा क्रान्तिमा समर्पित भइन, भने पोखरेलकी आमा परिवार र संस्कारमा केन्द्रित भइन । गोर्की उपन्यासकी आमा मजदुर वर्गकी आमाकी प्रतीक थिइन भने पोखरेलकी आमा नेपाली ग्रामीण परिवेशकी आदर्श आमा थिइन । पाभेलकी आमाले राजनीतिक उत्पीडनका विरुद्ध सङ्घर्ष गरेकी थिइन भने पोखरेलकी आमाले पारिवारिकरुपमा देखिएको आर्थिक अभाव विरुद्ध एक्लो जिन्दगी बोकेर आफ्ना सन्तानहरूको खुसी र शिक्षादीक्षाकालागि सङ्घर्ष गरेकी थिइन । उहाँकी आमाको निरन्तरको स्नेह र संस्कार नै त ईश्वर पोखरेलको आजको व्यक्तित्वको पहिलो पाठशाला थियो । पाठकहरूलाई पोखरेलको आमा सपना र ताराहरूले यही कुरा पढाउँछ । परिवर्तनको आन्दोलनमा नेपालको तत्कालिन आर्थिक राजनीतिक र आर्थिक चेतना र धरातल कस्तो थियो भन्ने कुराको यथार्थताको चित्रण समेत गर्दछ ।
अन्त्यमा मलाई पुस्तक पढ्दा यस्तो लाग्यो,
आमाप्रतिको समर्पणमा पोखरेल भावनाको नदीमा बगिरहेका छन, जहाँ न श्रद्धाको किनारको टुङ्गो हुन्छ न त्यहाँ प्रेमको गहिराइको अन्त्य । पोखरेललाई अर्को कृतिकोलागि अग्रीम शुभकामना ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी