राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र पूर्वडिआइजी छविलाल जोशीको बन्दी प्रत्यक्षीकरणको रिटमा आज पनि सुनुवाइ हुँदैछ।
शुक्रबार न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा सुनुवाइ हुने भएको हो। आज आदेश आउने सम्भावना रहेको छ।
आज जाहेरवालाका पक्षबाट वरिष्ठ अधिवक्ताहरू दिनेश त्रिपाठी र सुरेन्द्र भण्डारीले बहस गर्ने तयारी छ।
बिहीबार रवि र छविलाल दुबै पक्षका वकिलहरूले बहस गरेका थिए। तर बहस नसकिएपछि हेर्दाहेर्दैमा राखिएको थियो।
गत मंगलबारदेखि नै रविका वकिलहरूले बहस गरेका थिए। मंगलबार रवि पक्षबाट वरिष्ठ अधिवक्ता सुशील पन्त, सुरेन्द्र थापा, मेघराज पोखरेल, अधिवक्ताहरू नारायणदत्त कँडेल, जितेन्द्र झा, राजेन्द्र सेढाइँ, सुदिक्य पन्त लगायतले बहस गरेका थिए।
अन्तिममा वरिष्ठ अधिवक्ता रमण श्रेष्ठले बुधबार र बिहिबार बहस गरेका थिए ।
यस्तै सरकारी वकिलको तर्फबाट नायब महान्यायाधिवक्ता लोकराज पराजुली, गोबिन्द खनाल, दिनेश घिमिरेसहित पाँच जनाले बहस गरेका थिए।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासले चैत २२ गते लामिछानेलाई बुटवलको सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो।
न्यायाधीशहरू रमेश ढकाल र स्वीकृति पराजुलीको संयुक्त इजलासले उक्त आदेश गरेको थियो।
जिल्ला अदालत रूपन्देहीले लामिछानेलाई एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो। उक्त बेरितको आदेश बदर गर्न माग गर्दै लामिछाने र सरकारी वकिल उच्च अदालत पुगेका थिए। त्यसमा सुनुवाइ गरेसँगै लामिछानेलाई कारागार चलान गर्न आदेश भएको थियो।