लमजुङ, जेठ ३ । नेपाल तरुण दल, लमजुङको पाँचौं जिल्ला अधिवेशनको उद्घाटन समारोहमा खुकुरी र रडसहित अराजक समूहले आक्रमण गरेको घटनाप्रति दलले गम्भीर ध्यानाकर्षण गराउँदै तीव्र भर्त्सना गरेको छ।
बेसीशहर नगरपालिका–८ स्थित प्रगतिटोल आमा समूह भवनमा शनिबार सम्पन्न अधिवेशनको उद्घाटन कार्यक्रममा अपराह्न २ः०५ बजे हरिप्रसाद बरालको नेतृत्वमा आएको समूहले उद्घाटन समारोहमा नाराबाजी गर्दै हातहतियारसहित आक्रमण गरेको नेपाल तरुण दल, लमजुङका कार्यवहाक अध्यक्ष कुम रासी गुरुङ (भुपेश) ले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ।
उक्त कार्यक्रम नेपाल तरुण दलका पूर्व केन्द्रीय अध्यक्ष एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजंग बस्नेतको प्रमुख आतिथ्यतामा भएको थियो। कार्यक्रममा नेपाली कांग्रेस लमजुङका सभापति डा. टकराज गुरुङ, नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्धान गुरुङ, गण्डकी प्रदेशका सह–महामन्त्री एवं मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डे, पूर्व सभापति चन्द्रबहादुर कुँवर, कृष्णप्रसाद कोइरालासहित विभिन्न तहका नेता तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
आक्रमणको क्रममा अधिवेशन प्रतिनिधिहरुले अराजक समूहलाई कार्यक्रम स्थलबाट बाहिर निकाली थप क्षति हुन नदिएको तरुण दलले जनाएको छ। आक्रमणमा केही प्रतिनिधिहरु घाइते भएको र उनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना समेत प्रेस विज्ञप्तिमा व्यक्त गरिएको छ।
दलले अधिवेशन असफल पार्ने प्रयासप्रति विरोध जनाउँदै सम्पूर्ण तरुणहरुलाई एकताबद्ध हुन अपिल गरेको छ भने आक्रमणकारीहरूमाथि कडा कानुनी कारबाही गर्न स्थानीय प्रशासनसँग माग गरेको छ।