काठमाडौं, ४ जेठ । बिबादस्पद ब्यावसायी दुर्गा प्रसाई थप चार दिन हिरासतमा रहने भएका छन्। काठमाडौँ जिल्ला अदालतले प्रसाईंलाई थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।
चैत १५ गते तीनकुनेमा भएको राजावादी समूहले गरेको प्रदर्शनमा हिंसा भड्काएको आरोपमा पक्राउ परेका प्रसाईंलाई आइतबार प्रहरीले म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो ।
सो क्रममा अदालतले राज्य विरुद्धको कसुरमा थप ४ दिन म्याद दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।आइतबार न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले प्रसाईंसहित २६ जनालाई अनुसन्धानका लागि थप ४ दिन म्याद दिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
पछिल्लो पटक प्रसाईंविरुद्ध वैशाख ३० गते ५ दिन म्याद थप भएको थियो । प्रसाईंविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरमा मुद्दा दर्ता भएको छ ।
चैत १५ गते प्रदर्शनका नाममा हिंसा भड्काएर उनी फरार रहेकोमा चैत २८ गते प्रहरीको विशेष ब्युरोले भारतमा प्रकाउ गरीचैत २९ गते बिहान उनलाई भद्रपुर ल्याएको थियो । त्यसपछि उनलाई जहाजबाट काठमाडौं ल्याइएको हो ।
व्यवसायी प्रसाईंले अगुवाइ गरेर चैत ४ गते राष्ट्रिय पञ्चायतका पूर्वअध्यक्ष राप्रपाका नेता नवराज सुवेदीको नेतृत्वमा राजसंस्था पुन:स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति गठन गरिएको थियो । सुवेदीले उनै प्रसाईंलाई जनआन्दोलन समितिको कमान्डर पनि घोषणा गरेका थिए ।
चैत १५ गते प्रसाईंले नै भाँडभैलो मच्चाएपछि राजावादीहरूको प्रदर्शन हिंस्रक बनेको थियो । प्रदर्शनका क्रममा एक सञ्चारकर्मीसहित २ जनाको मृत्यु भएको थियो । साथै दर्जनौँ गाडीमा आगजनी र व्यक्तिगत तथा सरकारी सम्पत्तिमा समेत आगजनी भएको थियो ।