जेष्ठ ३, काठमाडौँ । कांग्रेस सांसदहरुले गभर्नर नियुक्तिमा ढिलाई भइरहेको प्रति एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको भूमिकाप्रति अविश्वास प्रकट गरेका छन् । कांग्रेसले गभर्नर नियुक्तिमा भइरहेको ढिलाइलाई लिएर एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिकाप्रति गम्भीर आशंका प्रकट गरेको छ ।
कांग्रेस संसदीय दलको शनिबारको बैठकमा राष्ट्र बैंकका निर्देशकबाट राजीनामा गरेका गुणाकर भट्टको राजीनामा स्वीकृत नभएपछि एक साताअघि अर्थविद् विश्व पौडेलको नाम प्रस्ताव गर्दासमेत नियुक्ति प्रक्रियामा ढिलाई भइरहेको भन्दै धेरैजसो सांसदहरुले प्रधानमन्त्रीको भूमिकाप्रति प्रश्न गरेका थिए ।
वैशाख तीन ३ गते प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भएको छलफलबाट राष्ट्र बैंकका निर्देशक भट्टलाई गर्भनर बनाउने समझदारी बनेको थियो । त्यही समझदारीको आधारमा भट्टले राजीनामा दिएका थिए । तर, उनको राजीनामा डिपुटी गर्भनर निलम ढुंगानाले स्वीकृत नगरीदिएपछि दुई नेताबीचकै समझदारीअनुसार अर्थविद् विश्व पौडेललाई गर्भनर बनाउन कांग्रेसले गत शनिबार प्रस्ताव गरेको थियो । गभर्नर सिफारिस समितिका सदस्यसमेत रहेका पौडेलले आफ्नो नाम प्रस्ताव भएपछि भोलिपल्ट आइतबार नै समितिबाट राजीनामा दिएका थिए ।
उनले राजीनामा दिएपछि रिक्त स्थानमा बुधबारको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका पूर्वसदस्य पोषराज पाण्डेलाई नियुक्ति गरिसकेको छ । अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा रहेको समितिले पूर्णता पाइसकेपछि गभर्नर सिफारिसका लागि समितिको बैठक अहिलेसम्म बस्न सकेको छैन ।
समितिले राष्ट्र बैंकका कम्तीमा एकजना डिपुटी गर्भनरसहित तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था कानुनमा छ । सिफारिस समितिले तीन जनाको नाम सिफारिस गरेपछि मात्रै मन्त्रिपरिषद्ले त्यसमध्यबाट एक जनालाई गभर्नर नियुक्ति गर्ने निर्णय गर्छ ।
कांग्रेस संसदीय दलमा राजीनामा दिन लगाउने, राजीनामा स्वीकृत नहुने, फेरि अर्को नाम प्रस्ताव गर्ने । उसलाई बनाउनसमेत ढिलाई गर्ने कामले गम्भीर आशंका भएको भन्दै कांग्रेस सांसदहरुले यसलाई धेरै नगिजोल्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।
कांग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले प्रधानमन्त्री र कांग्रेस सभापतिबीच अर्थविद् पौडेललाई गभर्नर नियुक्ति गर्ने विषयमा समझदारी भइसकेको बताए ।
कांग्रेस सांसदहरु हृदयराम थानी, रामहरि खतिवडा, सरिता प्रसाईं, राजेन्द्र बजगाईलगायतले गभर्नर नियुक्तिमा किन ढिलाई भइरहेको हो भनेर नेतृत्वमाथि प्रश्न गरका थिए । उनीहरुले गर्भनर नियुक्ति राजनीतिक रुपमा अविश्वास र आर्थिक रुपमा देशलाई झन् कमजोर बनाउन खोजिएको भन्दै यसलाई धेरै नगिजोल्न आग्रह गरेका थिए ।
अर्की सांसद सरिता प्रसाईंले सरकारमा जाँदा पहिलो पार्टी भएर गएको कांग्रेस त्यहाँबाट बाहिरिने बेलासम्म दोस्रो ठूलो पार्टी बन्ने अवस्था सिर्जना भइरहेको बताइन् ।
बैठकमा सांसदहरुको बजेटको विषयलाई पनि प्रमुखताका साथ उठाएका थिए । उनीहरुले नयाँ आर्थिक वर्षको बजेट वितरण समानुपातिक र समोन्यायिक रुपमा हुनुपर्ने माग उठाएका थिए । प्रत्यक्ष र समानुपातिक सांसदहरुका लागि समान व्यवहार गर्ने गरी बजेट आउनुपर्ने उनीहरुको माग थियो ।
गर्भनर नियुक्ति र गठबन्धनका विषयमा केही नबोली बजेटमा मन्त्रीहरुले सांसदहरुको भावनालाई समेत बुझेर काम गर्न निर्देशन दिएका थिए ।