आजदेखि सुरु हुने सगरमाथा संवादमा जलवायु परिवर्तनको जोखिम रोक्नेदेखि न्याय मागसम्मका एजेन्डा

आजदेखि सुरु हुने सगरमाथा संवादमा जलवायु परिवर्तनको जोखिम रोक्नेदेखि न्याय मागसम्मका एजेन्डा

  • शुक्रबार, जेष्ठ २, २०८२
  • मिर्मिरे अनलाइन

  • 6K
    SHARES

जेष्ठ २, काठमाडौँ । काठमाडौंमा आजदेखि ‘सगरमाथा संवाद २०२५’ सुरु हुँदै छ । तीन दिनसम्म चल्ने संवादमा १७५ जना विदेशी पाहुना सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । यो संवाद ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित रहेको सगरमाथा संवाद सचिवालयका सदस्य सचिव महेश्वर ढकालले जानकारी दिए । मुख्यगरी पाँचवटा मुद्दा उठाउन लागिएको बताउदै उनले जलवायु परिवर्तनको खतरा बढ्न नदिन पर्वतदेखि टापु राष्ट्रलाई जोड्ने, हरित अर्थतन्त्रलाई प्राथमिकता दिने, जलवायु परिवर्तनको हानिनोक्सानीबाट बच्ने, न्यूनीकरण र सम्बोधन गर्ने उपाय खोज्ने, जलवायु न्याय तथा मानव भविष्यको लागि आवाज उठाउने, विश्वव्यापी तथा क्षेत्रीय साझेदारी बढाउने सम्म एजेण्डामा छलफल हुने बताए ।

ढकालका अनुसार सगरमाथासमेत पर्ने नेपालको उच्च हिमाली क्षेत्रमा जलवायु परिवर्तनको असरबारे छलफल हुनेछ । त्यसबाट तल्लो क्षेत्रमा परिरहेको असर गहिरिन नदिन तत्काल आवश्यक कदम उठाउने विषयमा बहस हुनेछ ।

नेपालले एक्लै जोखिम कम गर्न नसक्ने भएकाले साझा सम्बोधन गर्ने लक्ष्य लिएको ढकालले बताए ।

नेपालले हिमनदी संरक्षणका लागि ‘पृथ्वीको तापक्रम १।५ डिग्रीभन्दा कम’ हुनुपर्ने लक्ष्यको आवश्यकतामाथि छलफल गर्नेछ । विश्व मौसम संगठन (डब्लूएमओ) का अनुसार सन् २०२४ हालसम्मकै सबैभन्दा तातो वर्ष थियो । त्यतिबेला पृथ्वीको तापक्रम १.५ डिग्री सेल्सियसभन्दा माथि पुगेको थियो ।

इन्टरगभरमेन्टल प्यानल अन क्लाइमेट चेन्ज (आईपीसीसी) को सन् २०१९ को प्रतिवेदनअनुसार पृथ्वीको तापमान १।५ डिग्री सेल्सियसमाथि पुग्दाको असर हिमनदी र मूल नदी प्रणालीमा आश्रित राष्ट्रमा असमान रूपमा पर्न जान्छ ।

नेपालले आफ्ना हिमनदीको विनाश रोक्न पनि पर्वतीय मुलुकदेखि टापु राष्ट्रलाई यस संवादमार्फत जोड्न खोजिरहेको सदस्य सचिव ढकालको भनाइ छ । संवादमा नेपालले जलवायु परिवर्तनका कारण भोगेको असर प्रमाणसहित प्रस्तुत गर्दै छ ।

जसका लागि नेपालले ‘जलवायु परिवर्तनको बुझाइ, नेपालमा प्रभाव र जोखिम’ विषयमा तथ्य पत्रसमेत तयार गरेको छ । तथ्य पत्रमा सन् २०२३ र २०२४ मा भारी वर्षाको कारणले पूर्वीय क्षेत्रमा जलविद्युत् आयोजनामा ६३ मिलियन अमेरिकन डलरबराबरको क्षति पुगेको उल्लेख छ । यसैगरी पछिल्लो पाँच वर्षमा नेपालमा जलवायु परिवर्तनले बाढी, पहिरो र हिमताल फुटिरहेको उक्त पत्रमा उल्लेख छ ।

सन् २०२१ मा भारी वर्षाका कारण मेलम्चीमा आएको बाढीले ४९६ मिलियन अमेरिकी डलरबराबर र सन् २०२४ मा हिमाली क्षेत्र थामेमा आएको बाढीले ६।१७ मिलियन अमेरिकी डलरबराबर क्षति पुगेको सोही तथ्यमा छ । यी तथ्यमार्फत नेपालले जलवायु वित्तका लागि धनी राष्ट्रसँग माग गर्ने र पर्वतीय मुलुकका तर्फबाट सहजीकरण एवं नेतृत्वदायी भूमिका खेल्ने लक्ष्य राखेको छ ।

नेपालले मुख्य गरेर जलवायु परिवर्तनको जोखिम बढ्न नदिन हिमालदेखि टापु राष्ट्रसम्मलाई जोड्ने, हरित अर्थतन्त्रलाई प्राथमिकता दिने,जलवायु परिवर्तनको नोक्सानीबाट बच्ने र सम्बोधन गर्ने उपाय खोज्ने, जलवायुसम्बन्धी विश्वव्यापी तथा क्षेत्रीय साझेदारी बढाउने,जलवायु न्याय तथा मानव भविष्यका लागि आवाज उठाउने लगायतका एजेण्डा उठाउने छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ